अधिकांश लघुवित्तको नाफा घट्दा छिमेकको बढ्यो, बन्यो सबैभन्दा धेरै कमाउने लघुवित्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २२.८१ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ८८ करोड ६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६ करोड ३५ लाख रुपैयाँ बढी हो । लघुवित्तले गत वर्षको चैतसम्म ७१ करोड ७१ लाख रुपैयाँ कमाएको थियो ।

चालु आवको तेस्रो त्रैमासमा छिमेकले कमाएको यो नाफा लघुवित्त कम्पनीमध्ये सबैभन्दा धेरै हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा लघुवित्तको नाफामा वृद्धि भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.४४ प्रतिशत बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ११.७ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३० अर्ब २२ करोड निक्षेप संकलन र ५ अर्ब ५६ करोड सापटी लिई कुल ३२ अर्ब ६९ करोड ऋण लगानी गरेको छ ।

हाल २ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ४ करोड ९ लाख, रिटेन्ड अर्निङमा अर्ब ३० करोड र जगेडा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ६८ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि झिनो सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २५ पैसा बढेर ४१.४१ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३२.०८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.८५ गुणा र खराब कर्जा १.१९ प्रतिशत छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ Read Previous

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

आगामी बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण छ : अर्थमन्त्री Read Next

आगामी बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण छ : अर्थमन्त्री