रुकुम पश्चिम र जाजरकोट जोड्न भेरी नदीमा बेलिब्रिज निर्माण गरिने

जाजरकोट । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रुकुम-पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ ।

यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिए ।

भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको उनको भनाइ छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ ।

सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै रु ८ करोड ५७ लाख ९५ हजार ६२६ जरिवाना समेत गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ ।

निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मङसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयका डिभिजन प्रमुख इञ्जिनियर युवराज पोखरेलले बताए ।

सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असूल उपर गर्ने व्यवस्था छ । कम्पनीले २०६९ सालमा तीन वर्षमा काम सम्पन्न गर्नेगरी रु १४ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

सिटिजन्स बैंकका ग्राहकले पाँचतारे होटल इच्छामा छुट पाउने Read Previous

सिटिजन्स बैंकका ग्राहकले पाँचतारे होटल इच्छामा छुट पाउने

जग्गाको स्वामित्व नपाउँदा मझगाउँ विमानस्थल निर्माण रोकियाे, क्याबिनेटबाट निर्णय हुन बाँकी Read Next

जग्गाको स्वामित्व नपाउँदा मझगाउँ विमानस्थल निर्माण रोकियाे, क्याबिनेटबाट निर्णय हुन बाँकी