काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउन सुरु गरिएकाे छ । पोलमा हुने आगजनी नियन्त्रण गर्न र सहरको सौन्दर्य बढाउन काठमाडौं महानगरले नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको सहकार्यमा अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।
आइतबार काठमाडौं महानगर र नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु भएको सहमति अनुसार अव्यवस्थित तार हटाउन थालिएको हो । पहिलोचरणमा काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न १३ रुटका तार व्यवस्थित बनाइने छ ।
सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाउन सुरु गरिएको छ । प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्यूरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूटकाे तार हटाउने भएकाे छ ।
त्यस्तै, माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गरिने भएको छ।
डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गरिने छ। माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।
सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गरिने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।
यसमा नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन्।
ती क्षेत्रमा सेवा प्रदायकले आ–आफ्नो तारमा संकेत चिन्ह लगाउने, चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो।