काठमाडौं । साढे ५ महिनापछि एनएमबि बैंकको सेयर कारोबार खुल्ला भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको डेढ महिना पछि आज (कार्तिक २१ गते) देखि नेप्सेमा सेयर कारोबार खुल्ला भएको छ।
प्राइमसँगको मर्जर सम्झौता असफल भएपछि एनएमबीले ओमसँग गत जेठ २ गते मर्जर सम्झौता गरेको थियो। जेठ ५ गतेदेखि नेप्सेमा एनएमबीको कारोबार रोकिएको थियो । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए।
बुधबार नेप्सेमा ओमको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर स्वाप रेसियो अनुसारको समायोजन गरि एनएमबि बैंकको नाममा सूचीकरण भएसँगै बिहीबारदेखि नेप्सेमा सेयर कारोबार खुला भएको हो।
नेपाल स्टक एक्सचेञ्जमा मर्जरपछि बिहीबारबाट दुबै बैंकको एनएमबी बैंकको नामबाट संकेतमा सेयर कारोबार खुलेको हो। मर्जरपश्चात बैंकको पहिलो सेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुलेको छ ।
एनएमबी र ओम १०० बराबर ७६ अनुपात स्वाप रेसियोमा मर्ज गरेका हुन्। जसअनुसार ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन् ।
एकीकृत बैंकको चुक्ता पूँजी चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ पुगेको छ। बैंकमा नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको छ।
मर्जरपश्चात एनएमबी बैंकको कूल शाखा संख्या १६३, एटिएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ।