काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुग्दै हालसम्मकै महँगोको रेकर्ड बनायो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिएसँगै नेपाली बजारमा नयाँ रेकर्ड बनेको हो ।
विश्व बजारमा कोरोनाकालमा अचाक्ली महँगिएको सुनको मूल्य पछिल्ला केही महिना यता लगातार बढिरहेको छ । त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो । सन् २०२२ को अक्टोबरमा प्रतिऔंस १६५३ अमेरिकी डलर रहेको सुनको मूल्य हाल २०५० अमेरिकी डलर पुगेको छ । ८ महिनाको अवधिमै सुनको मूल्य प्रतिऔंस ४०० डलर बढिसकेको छ भने अझै बढ्ने संकेत देखिएको छ । सन् २०२० को जुलाइमा विश्व बजारमा सुनको मूल्य कीर्तिमानी प्रतिऔंस २२९७ डलरसम्म पुगेको थियो ।
विश्वभरका ठूला लगानीकर्ता सुनमा आकर्षित हुन थालेपछि सुनको मूल्य लगातार बढ्न थालेको हो । विश्व अर्थतन्त्रमा देखिएको मन्दीका कारण ठूला लगानीकर्ता सुनमा लगानी बढाउन थालेपछि मूल्य फेरि आकाशिन थालेको हो ।
विश्वका ठूला लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर, सुन, पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन् । पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आउनसक्ने गिरावटका कारण तेलका लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुन थालेको बताइन्छ ।विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण तेलको माग घट्दै गएको र आगामी दिनमा झन् कमी आउने आकलन गरिएको छ । माग घटेमा तेलको भाउ झनै घट्ने देखिन्छ । तेलको भाउ लगातार घटेपछि गत महिनामात्रै तेल उत्पादक देशहरुको संगठन ओपेकले तेल उत्पादनमा भारी कटौती गरेको थियो । यस्तो अवस्थामा लगानीकर्ताहरु सुरक्षित लगानीको रुपमा सुनतर्फ डाइभर्ट हुन थालेका छन् ।
यस्तै, सुनको मूल्य बढ्नुमा विश्व बैंकिङ क्षेत्रमा देखिएको संकट पनि रहेको जानकारहरू बताउँछन् । पछिल्लो दुई महिनाकै अवधिमा तीन ठूला अमेरिकी बैंकहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने उनीहरूको भनाइ छ ।
गत मार्च यता तीन ठूला अमेरिकी बैंक सिलिकन भ्याली बैंक (एसभीबी), सिग्नेचर बैंक र फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएका छन् । यसले विश्व बैंकिङ क्षेत्रमा आगामी दिनमा आउन सक्ने थप संकट मध्येनजर गर्दै लगानीकर्ताहरू सुनमा लगानी बढाउन थालेका छन् ।
यसैगरी, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनुको नकारात्मक असर डलरको मूल्यमा पर्ने देखिँदा लगानीकर्ता सुनतर्फ आकर्षित हुन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्याङ्कन डलरमा गरिन्छ । डलर घट्नु भनेको अन्य मुद्राको तुलनामा कमजोर हुनु हो, यसको क्रयशक्ती घट्नु हो । तर्सथ, डलरको मूल्य घट्दा अन्य मुद्राको क्रयशक्ति बढ्छ र कमोडिटीको माग बढ्ने हुन्छ, सुनको माग पनि बढ्छ जसले गर्दा सुनको भाउमा वृद्धि हुन्छ ।
यस्तै, विश्व सेयर बजारमा देखिएको गिरावटले पनि सुनको मूल्य बढाउन केही सहयोग गरेको छ । विश्व आर्थिक मन्दीको असर विश्व सेयर बजारमा देखिँदा सेयर लगानीकर्ताहरूल समेत सुनमा नै लगानी बढाइरहेको बताइन्छ।
विश्वका ठूला अर्थतन्त्र भएका अमेरिका, चीन, वेलायत लगायत देशका केन्द्रीय बैंक तथा डलर अर्बपतिहरूले समेत सुनमा लगानी गर्न थालेका छन् । जस्तोसुकै संकटमा पनि काम लाग्ने र विश्वभर एउटै मूल्य हुने हुनाले मानिसहरू सुनमा गरिएको लगानी सुरक्षित हुने विश्व्यापी मान्यता छ । कमोडिटी बजारमा सर्वाधिक लगानी गरिने वस्तुमा सुन नै पर्छ । केन्द्रीय बैंकहरूले पनि ठूलो मात्रामा सुन भण्डारण गरेका हुन्छन् ।
विश्वले झेलेको सन् १९३० को महामन्दी र सन् २००८ मा भएको आर्थिक मन्दीको बेलामा समेत विश्वका ठूला लगानीकर्ताले आफ्नो लगानी सुनमा सुरक्षित गरेका थिए । आर्थिक संकटको बेलामा विगतमा पनि विश्व सेयर बजारसहित अन्य क्षेत्र आरोलो लाग्दा सुनको मूल्य निरन्तर उकालो लाग्ने गरेको थियो । र, अहिलेको संकटमा पनि त्यसैले निरन्तरता पाएको जानकारहरू बताउँछन् ।आगामी दिनमा विश्व बजारमा सुनको मूल्य अझै बढ्ने आकलन समेत गरिएको छ ।