काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले बुधबार सूचना जारी गदै स्मार्टको अनुमाति पत्र स्वत खारेज भएको बताएको हो ।
सथै प्राधिकरणले दूरसञ्चार पूर्वाधार संरचना, प्र्रणाली र सञ्जाल चालु अवस्थामा हस्तान्त्रण गर्न भनेको छ । ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट टेलिकम प्रालि कुमारीपाटी, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं बिटिएसएल ०१) नविकरणका लागि दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको छ’, प्राधिकरणले भनेको छ ।
स्मार्टले प्राधिकरणलाई ७ अर्बभन्दा बढी बक्यौता र २३ अर्ब बढी रकम लाइसेन्स नविकरणका लागि तिर्नुपर्ने थियो । प्राधिकरणले २०८० वैशाख ३ सम्म उक्त रकम बुझाएर लाइसेन्स नविकरण नगरेपछि खारेज भएको जनाएको छ ।
‘अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम ९१० बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न समेत अनुरोध गरेको छ’, प्राधिकरणले जारी गरेको सूचनामा छ ।
गत चैत २८ गते लाइसेन्स जोगाउन स्मार्ट टेलिकम उच्च अदालत पाटन पुगेको थियो । तर, उक्त मुद्दामा अदालतले आदेश दिन अस्विकार गरेपछि पुनः सम्पति सरकारको अधिनमा ल्याउने निर्णय विरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो । यद्यपि प्राधिकरणको निर्णय विरुद्धको उक्त मुद्दा अदालतमा विचाराधिन छ ।