काठमाडौं । अमेरिकाको वित्तीय प्रणालीमा अर्को क्राइसिस देखिएको छ । सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएको दुई महिनामै फर्स्ट रिपब्लिकन बैंक पनि टाट पल्टिएको छ ।
नियामक निकाय फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले रिपब्लिकन बैंक संकटग्रस्त भएको जनाएको हो । कर्पोेरेसनको मध्यस्ततामा टाट पल्टिएको सो बैंक अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गनले किनेको छ ।
सन् १९८५ मा स्थापना भएको फस्र्ट रिपब्लिकन बैंकले गरेको १ खर्ब ७३ अर्ब अमेरिकी डलर कर्जा लगानी, ३० अर्ब बचत पत्र र ९२ अर्ब बचत सहित यसबाट हुने घाटा मोर्गन र कर्पोरेसनले बेहोर्ने सहमति भएको हो ।
गत मार्चमा बचतकर्ताहरुले बैंकबाट एकैपटक एक खर्ब रकम निकालेपछि बैंकको सेयर मूल्यमा भने व्यापक गिरावट आएको थियो । बैंकको वित्तीय अवस्थामा संकट बढ्दै गएपछि नियामकले आफ्नो नियन्त्रमा लिएर मोर्गनसँग उक्त सम्झौता गरेको जनाएको छ ।
रिपब्लिकन बैंकलाई मोर्गनले टेकओभर गरेसँगै अब उसका कार्यालय र शाखाहरु मोर्गनको नामबाट कारोबार हुनेछन् । अमेरिकी फेडरल रिजर्भले भने लगानीकर्ताको रकम र वित्तीय प्रणाली सुरक्षित रहेको बताएको छ ।
पछिल्लो पटक लगातार ठूला बैंक बन्द हुँदै गएपछि अमेरिकी इतिहासमा दुई दशक यताकै वित्तीय संकटको रुपमा विश्लेषण गर्न थालिएको छ । सन् २००८ को वित्तीय संकटमा ३०७ बिलियन डलर सम्पत्ति भएको वासिंटन म्युचुअल बैंक बन्द भएको थियो ।
एक सातामै दुई बैंक बन्द
अमेरिकको बैंकिङ प्रणालीमा दुई महिना अघि एकै साता ४० वर्षे इतिहास भएको १६ औं ठूलो सिलिकन भ्याली बैंक र २२ वर्ष लामो इतिहास भएको सिग्नेचर बैंक बन्द भएका थिए ।
मार्च महिनमै सिल्भरगेट बैंकमा पनि समस्या देखिएको नियामकले जनाएको थियो । धितोपत्र फाइलिङ अनुसार सन् २०२२ डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.३६ बिलियन अमेरिकी डलर र कुल डिपोजिट ८८.६ बिलियन डलर थियो भने सिलिकन भ्याली बैंकको २०९ बिलियनको सम्पत्ति रहेको थियो ।
तरलता अभाव, उच्च ब्याजदर वृद्धि, पूँजी संकट, ऋण असुली नहुँदा वित्तीय प्रणालीमा संकट देखिएको यस क्षेत्रका जानकारहरुले आकलन गरेका छन् ।
कसरी डुबे बैंक ?
फस्र्ट रिपब्लिकन बैंक डुब्नुको कारण बचतकर्ताले एकै पटक रकम झिकेको, बैंकले कमसल धितो राखेर धेरै कर्जा प्रवाह गर्दा संकटग्रस्त अवस्थामा पुगेको नियामकीय निकायहरुको विश्लेषण छ ।
यसैगरी, सिग्नेचर बैंक डुब्नुको मुख्य कारण विश्व क्रिप्टो मार्केटमा आएको गिरावट, ब्याजदर वृद्धि, तरलता अभाव रहेको जानकारहरू बताउँछन् । बैंकबाट ऋण लिएर क्रिप्टो करेन्सीमा लगानी गरेकाहरूले समयमै ऋण तिर्न नसक्दा बैंक संकटमा पर्दै गएको थियो । विश्वका विभिन्न देशले क्रिप्टोमा गरेको कडाइका कारण यसको मूल्यमा भारी गिरावट आएको छ ।
जसकारण बैंकबाट ऋण लिएर लगानी गरेकाहरूले समयमै बैंकको ऋण तिर्न सकनेन् । र बैंक संकटमा पर्दै गयो । त्यस्तै, बैंक डुब्नुको अर्को कारण उच्च ब्याजदर वृद्धि हो । अमेरिकी नियामक फेडरल रिजर्भ बैंकले यस वर्ष ४० वर्ष यताकै उच्च ब्याजदर वृद्धि गरेको छ । ब्याजदर वृद्धिले पनि बैंकलाई संकटतर्फ धकेलेको बताइन्छ ।
जब ब्याजदर शून्य प्रतिशत नजिक थियो, त्यो बेला कम जोखिमयुक्त भन्दै धमाधम ट्रेजरी बिल र बन्डमा लगानी गरेका थिए । तर महँगी नियन्त्रणका लागि भन्दै फेडले लगातार ब्याजदर बढायो ।
ब्याजदर बढेपछि ट्रेजरी बिलहरूको मूल्य भारी गिरावट आयो । ट्रेजरी बिलहरूको भाउ ह्वात्तै घटेपछि बैंकले अस्वाभाविक घाटा बेहोरेका छन् । जसको कारण संस्थाहरु नै संकटग्रस्त बनेको वित्तीय विज्ञहरुको भनाइ छ ।