चैतमा साढे ३३ अर्ब रकमान्तर, कुन आयोजनाले कति रकम पाए ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पूँजीगततर्फ रू १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।

यो अवधिमा अर्थ मन्त्रालयले रू २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि रू २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ ।

सङ्घीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रुपमा रू ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई रू ४ करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रू ६ करोडका बराबर निकासा दिइएको छ ।

चैत महिनामा दुई वटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि रू ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुज्रे सडक आयोजनाका लागि रू ७ करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको रू १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी, पालुङटार–कुण्डुटार सिँचाइ आयोजनाको रू तीन करोड ६४ लाख र सिँचाई पुनःस्थापना आयोजनाको रू ३ करोड ९० लाख बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको रू २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र रू २५ करोड रकमान्तर गरी सुनसरी–मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै रू २० करोड समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रमका लागि र रू छ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उत्तर–दक्षिण राजमार्गको रू ९ करोड घटाएर काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनालाई रकमान्तर गरिएको छ । राप्ती लोकमार्गको रू ६ करोड ५० लाख रकमान्तर गरेर स्थानीय सडक पुल निर्माण कार्यक्रमका लागि र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको रू १० करोड रकमान्तर गरेर निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई दिइएको छ ।

इङवा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

इङवा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

नेपालमा चिया खेतीको ४ दशक : निर्यातमा वृद्धि, तर सस्तोमा बेच्नुपर्ने बाध्यता Read Next

नेपालमा चिया खेतीको ४ दशक : निर्यातमा वृद्धि, तर सस्तोमा बेच्नुपर्ने बाध्यता