रेसुंगा विमानस्थलमा परीक्षण उडान, नियमित उडान थाल्ने तयारी

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबीटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो ।

कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा रहेको छ ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ ।

कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन् । ‘रेसुङ्गा-काठमाडौँ उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर रु ६ हजार ५०० हुने भनिए पनि अन्तिममा रु ६ हजारसम्म कायम हुनसक्छ,’ उनले भने ।

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।

लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । रासस

सरकारी लगानीका तीन हाइड्रोपावर अन्तिम चरणमा, असार भित्रै उत्पादन थाल्ने Read Previous

सरकारी लगानीका तीन हाइड्रोपावर अन्तिम चरणमा, असार भित्रै उत्पादन थाल्ने

ग्लोबल आइएमई स्मार्ट एपमार्फत मौलाकालिका केबलकारको टिकट काट्दा १०% छुट Read Next

ग्लोबल आइएमई स्मार्ट एपमार्फत मौलाकालिका केबलकारको टिकट काट्दा १०% छुट