काठमाडौं ।सरकारले विशेष प्राथमिकताका साथ जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी निर्माण गरिरहेका तीन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेका छन् ।
सरकारी लगानीको चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीद्धारा निर्माण भइरहेका १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र १०२ मेगावटको मध्यभाेटेकोसी जलविद्युत् आयोजना निर्माणको चरणमा पुगेका हुन् । यस्तै, ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना पनि आगामी वर्षभित्रै सम्पन्न हुने लक्ष्य राखिएको छ ।
नेपालको जलविद्युत् क्षेत्रमा एउटा उदाहरण बनेको चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ती आयोजना लामो समयपछि निर्माणको अन्तिम चरणमा पुगेका हुन् । बाढीपहिरो, ठेकेदारको लापरबाही, कोरोना भाइरस लगायत कारण यी आयोजना पछि धकेलिएका थिए । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले नियमित निरीक्षण गरी ठेकेदारलाई समयमै सम्पन्न गर्न दबाब दिएसँगै अहिले निर्माणको अन्तिम चरणमा पुगेका हुन् ।
सरकारी लगानीका यी चार आयोजना निर्माण सम्पन्न भएपछि कुल २७० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थपिने छ । सरकारी लगानीका चार आयोजना मध्ये रसुवागढी, मध्य भोटेकोसी र माथिल्लो सान्जेनले असारभित्रै उत्पादन गर्ने लक्ष्य राखेका छन् भने सान्जेन जलविद्युत्ले आगामी वर्षसम्म उत्पादन गर्ने लक्ष्य राखेको छ ।
यस्तो छ पछिल्लो अवस्था
मध्य भोटेकोसीकाे ९६ प्रतिशत काम पूरा : १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना चालु आर्थिक वर्षको असार मसान्तभित्र पूरा गर्ने गरी काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणाधीन यो आयोजनामा हालसम्म ९६ प्रतिशत बढी काम सम्पन्न भइसकेको हो ।
आयोजनाका सूचना प्रविधिका आइटी इन्जिनीयर बिमल खकुरेलका अनुसार हाल टनेलमा २०० मिटर काम बाँकी रहेको छ । उनले टनेलको काम लगभग अन्तिम चरणमा रहेको बताउँदै यस बाहेक टर्बाइन जोड्ने काम र इलेक्ट्रो मेकानिकल सेटपको काम भइरहेको जानकारी दिए । ट्रान्समिसनको काम ७० प्रतिशत सकिसकेको उनले बताए ।
‘असार मसान्तभित्र उत्पादन सुरू गर्ने भन्ने छ, तर कुनै सामान नआएको खण्डमा ढिला हुन पनि सक्छ, ढिला भयो भने साउन मसान्तसम्मा उत्पादन सुरू हुन्छ’ खकुरेलले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार बाढीपहिरोले बगाएको इलेक्ट्रोमेकानिकल सामानहरू पूर्ण बनाएर ल्याउनु पर्ने भएकाले त्यस कारण मात्र ढिला हुन सक्ने छ । पहिलो चरणमा यूनिट वान अथवा यूनिट टू मध्ये एउटा यूनिटबाट विद्युत् उत्पादन गरिने उनले जानकारी दिए ।
१०२ मेगावाटको यो बिजुली आगामी वर्षदेखि नै उत्पादन हुने भएको हो । यसलाई ३ यूनिटमा विभाजन गरेर काम भइरहेको छ । प्रत्येक यूनिट ३४ मेगावाटको रहेको छ ।
२०७० सालमा सुरू भएको यो आयोजना सन् २०७४ सालमा सक्ने लक्ष्य थियो । तर २०७१ सालमा आएको जुरे पहिरो, २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी, २०७३ को भोटेकोसी बाढी लगायत कारण आयोजनाको म्याद थपिएको थियो । त्यसलगत्तै कोभिड १९ का कारण पनि आयोजना निर्माणमा असर परेको थियो । २०७७ मा असार साउनमा आएको भोटेकोसी एवं आसपासका क्षेत्रमा आएको बाढी–पहिरो कारण निर्माणस्थल ढिलाइ भएको थियो ।
मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो । यो आयोजनााको मुख्य कार्यालय भोटोकोसी गाउँपालिका–५ चाकुमा रहेको छ । बाँध क्षेत्र भोटेकोसी गाउँपालिकामा छ भने पावरहाउस बाह्रबिसे नगरपालिकामा पर्छ । यो आयोजनाको कुल लगानी करिब १५ अर्ब अनुमान गरिएको छ ।
कम्पनीको सेयर संरचनाअनुसार चिलिमे हाइड्रोपावर कम्पनीको ३७ प्रतिशत, विद्युत् प्राधिकरणको १० प्रतिशत र अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु भोटेकोसी हाइड्रोपावरको १/१ प्रतिशत सेयर लगानी छ । आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गरेको छ ।
असार भित्रै तीन यूनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले पनि चालु आव भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल ९६ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले असारसम्म एउटा यूनिट र ढिलोमा असोजसम्म सबै यूनिटबाट बिजुली उत्पादन गर्ने जनाएको छ ।
आयोजनाका सूचना अधिकारी नरनाथ न्यौपानेले कुनै अवरोध नआएको खण्डमा अक्टोबरसम्ममा सबै यूनिटबाट उत्पादन सुरू गरिने बताए । उनले फिनिसिङ, हेडबोर्ड, ट्रान्समिसन लगायतका कामहरू बाँकी रहेको बताए । एक्टोमेकानिकलमा जडान गर्ने कामहरू र त्यसको परीक्षण गर्ने कामहरू भइरहेको बताए ।
‘अब अन्तिम चरणको काम भइरहेको छ, ट्रान्समिसन जडान गर्ने, हेडवोर्ड, फिनिसिङ र एक्टोमेकानिकलमा जडान र परीक्षण गर्ने काम सँगसँगै भइरहेको छ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ‘यही असारमसान्तसम्म एउटा जुन यूनिटबाट भए पनि विद्युत् परीक्षण सुरू गर्ने छौँ, त्यसपछि लगतै १ महिनाको अन्तरालमा १/१ वटा गरेर अक्टोबरसम्म सबै यूनिटबाट परीक्षण उत्पादन गर्ने छौँ ।’
माथिल्लो सान्जेनकाे ९९ प्रतिशत काम सम्पन्न
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको १४.८ मेगावाट विजुली यही असार मसान्तबाट परीक्षण उत्पादन गरिने भएको छ । ९९ प्रतिशत भौतिक प्रगति सकिसकेको यो आयोजनाको हाइड्रोमेकानिल र इलेक्ट्रोमेकानिकलतर्फको काम अन्तिम चरणमा रहेको हो । यसको ट्रान्समिसन लाइन बनाउने काम सकिसकेको छ ।
चिलिमेमा जडान गरेर उत्पादन परीक्षण गरिनेछ । विद्युत् प्राधिकरणको ट्रान्समिसन नबनेकाले वैकल्पिक योजनासहित उत्पादन गर्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो । २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सुरू भएको यो आयोजना चालु आर्थिक वर्षमा भने उत्पादन सुरू गर्न लागिएको हो ।
यस्तै, ४२ मेगावाटको सान्जेन जलविद्युत् आयोजन भने अर्को वर्ष मात्र सकिने भएको छ । चालु आवमै सक्ने लक्ष्य राखिए पनि काम सम्पन्न हुन अझै १ वर्ष लाग्ने आयोजनाले बताएको छ । २०७२ सालमा गएको भूकम्प र विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।