अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढ्यो, अध्ययन सुरू

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रेलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढेको हो । हाल भारतको रक्सौलदेखि अम्लेखगञ्जसम्म रहेको पेट्रोलियक पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्न लागिएको हो ।

अम्लेखगञ्ज–लोथर पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको काम सुरू भएको छ । नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीले अम्लेखगञ्ज डिपो प्रमुख विनितमणि कार्कीले भारतीय पेट्रोलियम मन्त्रालयका अधिकारी, नेपाल आयल निगमका अधिकारी, उद्योग वाणिज्य मन्त्रालयका अधिकारीहरूको संयुक्त टोली बनाइ अध्ययनको काम सुरू गरेको बताए ।

‘भारतीय आयल करपोरेसन, नेपाल आयल करपोरेसन, वाणिज्य मन्त्रालय लगायतका टिमले अध्ययन सुरू गरिसकेको छ,’ कार्कीले भने, ‘कस्तो मोडालिटिमा ग्रिड फिल्ड टर्मिनलको काम गर्ने भनेर अध्ययन गर्ने काम भइरहेको छ ।’

अम्लेखगञ्जदेखि चितवनको लोथर करिब ६२ किलोमिटर लामो नयाँ पेट्रोलियम पाइपलाइन निर्माण एंव भण्डारण सहितको ग्रिड फिल्ड टर्मिनल निर्माणको तयारी भइरहेको हो ।

विगतमा भएको संयुक्त कार्य समूहको निर्णय अनुसार चितवनको लोथरमा रहेको नेपाल आयल निगमको जग्गामा पेट्रोलियम पदार्थको भण्डारण सहितको ग्रिड फिल्ड टर्मिनल बनाइने योजना रहेको छ ।

सिलगुढी-चारआली पाइपलाइन निर्माणको प्रस्ताव

यस्तै, निगमले नेपाल र भारत दोस्रो पाइपलाइनको प्रस्ताव गरेको छ । भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म अर्को पेट्रोलियम पाइपलाइन बनाउने समेत योजना बनाएको हो ।

५० किलोमिटर लामो यस पेट्रोलियम पाइपलाइन निर्माणका लागि समेत अध्ययन गर्ने भारतीय आयल निगम र मन्त्रालयसँग छलफल गरिएको निगमले जनाएको छ ।

ग्यास पनि पाइपलाइनबाटै ल्याउने योजना

निगमले खाना पकाउने (एलपी) ग्यास पाइपलाइन निर्माण कार्य अगाडि बढाउन भारतीय टोलीसँग छलफल गरेको छ । समय समयमा हुने ढवानी अवरोधको अन्त्यका लागि समेत पाइपलाइन निर्माण महत्वपूर्ण रहेको निगमका सहप्रवक्ता कार्कीले बताए ।

उनका अनुसार पाइपलाइन निर्माणले ढुवानीमा लाग्ने अर्बौं रकम बचत गर्ने छ । यसले पेट्रोलियम पदार्थको चोरी, चुहावट, बिचौलिया अन्त्य गर्नुका साथै गुणस्तर एंव शुद्धता कायम गर्न सघाउने छ ।

२०७४/७५ मा सुरू भएको मोतिहारीदेखि अम्लेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माण ३० महिनामा पूरा गरिएको थियो । ७०.२ किलोमिटर लम्बाइको उक्त पाइपलाइनबाट दैनिक ३० हजार किलोलिटर डिजेल आयात भइरहेको छ । पाइपलाइनमार्फत प्रतिघण्टा १६० किलोलिटर डिजेल ढुवानी गर्न सक्ने क्षमता रहेको छ । साथै, सोही पाइपलाइनबाट पेट्रोल समेत ल्याउने तयारी भइरहेको छ ।

हाल नेपालमा अमलेखगञ्च, भैरहवा, विराटनगर, वीरगञ्ज, चरली, धनगडी, जनकपुर, नेपालगञ्ज, पोखरा र सुर्खेत नाकाबाट पेट्रोलियम पदार्थ भित्रिने गरेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, लगानीकर्ता शिवम् सिमेन्टमा झुम्मिए Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, लगानीकर्ता शिवम् सिमेन्टमा झुम्मिए

अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेस Read Next

अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेस