स्याफ्रुबेँसी-रसुवागढी सडक विस्तारमा ढिलाइ, अझै आएनन् चिनियाँ टोली

काठमाडौं । चीनका कारण स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारमा ढिलाइ भएको छ । चिनियाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त सडक चिनियाँ टोली नआउँदा निर्माणको अझै टुंगो हुन नसकेको हो ।

गत महिना दुई देशका प्रतिनिधि बीच भएको छलफलमा चिनियाँ टोली यही अप्रिल महिना भित्र आइपुग्ने निर्णय भएको थियो । तर, भनिएको समय सकिनै लाग्दा समेत चिनियाँ टोली नेपाल आइपुगेको छैन ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गर्ने गरी गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक २ लेनमा विस्तार गर्ने निर्णय भएको थियो ।

कोभिडका कारण देखाउँदै चीनले काम सुरू नगरेको सो सडक विस्तार चाँडै अघि बढ्ने अपेक्षा गरिएको गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक आयोजनाका प्रमुख ध्रुव श्रेष्ठले बताए । उनका अनुसार चिनियाँ दूतावासबाट अप्रिलभित्र टोली नेपाल आउने कुरा भए पनि नआएका हुन् ।

‘चिनियाँ टोली यही अप्रिल महिनाभित्र आउछु भनेका थिए तर, अहिलेसम्म आएको छैन, उनीहरु नआउँदा काम सुरू हुन सकेको छैन,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

चीनसँगको मुख्य अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सो सडकको स्तरोन्नति सुरू गर्न चिनियाँ टोलीले बारम्बार आउने भने पनि आउन सकेको छैन । चिनियाँ टोलीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक विस्तारको काम सुरू गर्ने भएको हो । चिनियाँ टोलीले हालै निर्माण सुरू गर्न मुआब्जा वितरण र पोल हटाउने काम सक्न निर्देशन दिएको उनले बताए ।

स्याफ्रुमा घर र पोलको समस्या कायमै

स्याफ्रु बजारमा १५ मिटरमा बजार नै हटाउनु पर्ने भएकाले ढिलाइ भएको छ । श्रेष्ठका अनुसार स्याफ्रु बजारमा मुआब्जा लिनका लागि सुचना निकालिएको छ ।

‘स्याफ्रुबेसीको १५ मिटरमा पूरा बजार उठ्ने हुँदा मुआब्जा वितरणमा ढिलाइ भएको हो, हामीले मुआब्जा लिन आउन सूचना निकालेका छाँै, अब मूल्यांकन गरेर बाँड्न मात्र बाँकी छ,’ उनले भने ।

यस्तै, स्याफ्रुबेँसीमा ५० वटा पोल हटाउन बाँकी रहेको छ । उक्त पोलहरू मध्ये केही सडक बीचमा भए र हटाउँदा खाल्डोमा पर्ने भएकाले चिनियाँ टोलीले वाल लगाएपछि कुनामा सार्ने तयारी भएकाले हाल नहटाइने उनले बताए ।

उनका अनुसार चिनियाँ टोली आएर निर्माण सुरू गरे पछि झण्डै २ वर्षमा निर्माण सक्ने तयारी रहेको छ । चिनियाँ सरकारको सहयोमा बन्न लागेको काठमाडौंदेखि केरुङ जोड्ने यो सडकमार्गको दूरी १७४ किलोमिटर रहेको छ । यसलाई ३ भागमा विभाजन गरेर काम गरिने भएको छ । काठमाडौं-गल्छी खण्डको ५४ किलोमिटर सडक दुई लेनको भए पनि गल्छीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने तयारी रहेको छ ।

२०७२ सालमा भारतले अघोषित गरेको नाकाबन्दी गरेपछि काठमाडौं–केरुङ नाका २ वर्षभित्र २ लेनको बनाउने निर्णय गरिएको थियो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक यही नै हो । हाल एक लेनको सडक साँघुरो हुँदा रसुवागढीबाट सामान लिएर आउन निकै कठिनाइ हुँदै आएको छ ।

यस्तै, मैलुङ–स्याफ्रुबेंसी खण्डमा पर्ने १८ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । यस खण्डमा सेनाले थालेको काम बाहेक अन्य स्थानमा कुनै पनि कामले गति लिन सकेको छैन ।

 

किमाथाङ्का नाका ३ वर्षदेखि बन्द हुँदा सङ्खुवासभामा खाद्यान्न अभाव Read Previous

किमाथाङ्का नाका ३ वर्षदेखि बन्द हुँदा सङ्खुवासभामा खाद्यान्न अभाव

ठेकेदारको लापरवाहीले पुल निर्माण अधुरै Read Next

ठेकेदारको लापरवाहीले पुल निर्माण अधुरै