काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्याको ६६.२ प्रतिशत नगरपालिकाका र ३३.८ प्रतिशत गाउँपालिकामा बस्ने गरेको पाइएको छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयले नगरपालिका तथा गाउँपालिकास्तरको तथ्याङ्क सार्वजनिक गर्दै नगरपालिकामा बस्ने जनसङ्ख्या १ करोड ९२ लाख ९६ हजार ७८८ (६६.२ प्रतिशत) र गाउँपालिकामा बस्ने जनसङ्ख्या ९८ लाख ६७ हजार ७९० (३३.८) प्रतिशत रहेको छ । जुन २०६८ सालको जनगणनाअनुसार नगरपालिकामा बस्ने जनसङ्ख्या १७.१ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसङ्ख्या ८२.९ प्रतिशत रहेको थियो ।
जनगणना सन्दर्भ दिन २०७८ साल मङ्सिर ९ गते सार्वजनिक गरिएको तथ्याङ्कै आधारमा नगरपालिका र गाउँपालिकाको नजिता आज सार्वजनिक गरिएको हो । जुन तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको सङ्ख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.८७ प्रतिशत) र महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.१३ प्रतिशत) रहेको छ ।
नेपालको लैङ्गिक अनुपातप्रति १०० जना महिलामा पुरुषको सङ्ख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६.०६ र गाउँपालिकाको ९४.६८ रहेको नगरपालिका तथा गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भौगोलिक क्षेत्रअनुसार देशको हिमालमा नगरपालिकामा बस्ने जनसङ्ख्या ३५.६ प्रतिशत र गाउँपालिकामा बस्ने जनसङ्ख्या ६४.४ प्रतिशत रहेको छ ।
यसैगरी, पहाडमा नगरपालिकामा बस्ने जनसङ्ख्या ६३.३ प्रतिशत र गाउँपालिकामा बस्ने जनसङ्ख्या ३६.७ प्रतिशत रहेको छ । तराईमा नगरपालिकामा बस्ने जनसङ्ख्या ७१.८ र गाउँपालिकामा बस्ने जनसङ्ख्या २८.२ प्रतिशत रहेको छ । जनगणना अवधिमा नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्विदर ०.९२ प्रतिशतप्रति वर्ष रहेको छ । जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो भने नगरपालिकाको वार्षिक औसत जनसङ्ख्या वृद्विदर १.३६ र गाउँपालिकाको ०.११ प्रतिवर्ष रहेको छ ।
जनगणनाको नतिजाअनुसार नेपालको जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसङ्ख्या) १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा १८० वर्ग किमी मात्र थियो भने नगरपालिकाको जनघनत्व तीन७३ र गाउँपालिकाको जनघनत्व १५जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये नगरपालिकामा बसोबास गर्ने परिवार ४४ लाख ७९ हजार ६६२ र गाउँपालिकामा बसोबास गर्ने परिवार २१ लाख ८७ हजार २७५ रहेका छन् ।
नेपालमा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ भने नगरपालिकामा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३१ र गाउँपालिका ४.५१ जना रहेको छ ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रको नगरपालिकामा ४.२३, पहाडको नगरपालिकामा ३.९० र तराईको नगरपालिकामा ४.६३ जना रहेको छ भने गाउँपालिकामा हिमालमा ४.३८, पहाडमा ४.१४ र तराई क्षेत्रमा ४.९९ जना सदस्य रहेका छन् ।
नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ६८.५ प्रतिशत परिवारमा पुरुष परिवारमूली र ३१.५ प्रतिशत महिला परिवारमूली रहेका छन् । नगरपालिकामा ६७.२ प्रतिशत र गाउँपालिकामा ७१.१ प्रतिशत परिवारमूली पुरुष रहेका छन् भने नगरपालिकामा ३२.८ प्रतिशत र गाउँपालिकामा २८.९ प्रतिशत परिवारमूली महिला रहेका छन् ।