काठमाडौं । विदेशबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण फितलो रहेको छ । विगतमा पनि पटक पटक नाकामा विषदी परीक्षण गर्ने तयारी गरिए पनि अझै कडाइका साथ जाँच हुन नसकेको हो ।
हाल नाकामा तरकारी तथा फलफूलमा विषादीको मात्र जाँचै नगरी निवार्ध रुपमा आयात भइरहेको छ । आयात हुने तरकारीमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषादी प्रयोग हुने गरेको भेटिए पनि सरकारले नाकामा जाँच नगर्दा खुलेआम आयात भइरहेको छ ।
विगतका सरकारले नाकामा विषादी परीक्षण गर्ने तयारी गरे पनि भारतको दबाबका कारण कार्यन्वयनमा आउन सकेको थिएन । गत चैत २८ गते मन्त्रिपरीषद् बैठकले नाकामा विषादी परीक्षण गर्ने निर्णय गरेसँगै अब भने कडाइका साथ जाँच गरिने सरकारी अधिकारीहरू बताउँछन् ।
सरकारले आयातित जीवनाषक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने निर्णय समेत गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सूचना अधिकारी मोहनकृष्ण महर्जनले उक्त निर्णयले अन्तर्राष्ट्रिय किट्नाषक मापदण्ड नेपालमा समेत लागू गर्ने बताए ।
उनका अनुसार उक्त निर्णय राजपत्रमा लागू भएपछि मात्र विभागले अनुगमन तथा नियमनको काम सुरू गर्ने छ । हाल पुरानै तरिकाले नियमनको काम भइरहेको छ ।
‘अहिले विगतमा भए जसरी नाकामा विषादी परीक्षण भइरहेको छ । अहिले भएको घोषणा अनुसार कार्यान्वयन ल्याउन राजपत्र आउनु पर्छ,’ महर्जनले चाणक्य पोष्टसँग भने ।
यसअघि सरकारले ०७७ सालमा स्याउ, केरा, करेला, भन्टा, बन्दा, गोभी, भिन्डी, आलु र टमाटरमा मात्र विषादीको अधिकतम सीमा तोक्न खाद्यपदार्थको गुणस्तर निर्धारण आदेश स्वीकृत गरेको थियो । अब भने आयातित एवं स्वदेशी सबै तरकारी र खाद्यान्नको विषादी सीमा तोकिने छ । त्यसका लागि निर्देशिका बनिसकेको महर्जनले बताए ।
कृषि प्रदान देशको रूपमा परिचित हुँदाहुँदै पनि तरकारी, फलफूल, अन्य खाद्य सबैमा देश परनिर्भर छ । बजारमा पाइने तरकारी तथा फलफूल ९५ प्रतिशत भारतबाटै आयात हुने गर्छन ।
मन्त्रिपरीक्षद्ले २०७६ जेठ १० गते भारतसहित तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलमा हुने विषादीपरीक्षण नाकामै गरिने निर्णय गरेको थियो । भारतीय दूतावासको दबाबमा २०७६ असार २ गते राजपत्रमा प्रकाशन गरी भन्सार बिन्दुमा क्वारेन्टिन र जीवनाशक विषादी परीक्षणमा रोक लगाइएको थियो ।
२०७६ असार २५ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा निरन्तर राख्न अन्तरिम आदेश जारी गरेको थियो । सो पश्चात खुकुलो रूपमा विषादी परीक्षण निरन्तर चलिरहेको छ ।
सरकारले करिब दर्जन प्रकारका विषादी पञ्जीकृत गरेको छ । तर, हालसम्म २ प्रकारका विषादीमात्र परीक्षण हुँदै आएको छ । काब्रामाइट र अर्गानोफोस्पेट नमक विषादी मात्रै हालसम्म परीक्षण हुँदै आएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार परीक्षणका क्रममा गोलभेंडा, काउली, सिमी लगायतका तरकारीमा बढी विषादी पाइने गरेको छ । नेपालमा आयातित हुने तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेषको कार्य विगतमा केन्द्रीय कृषि प्रयोगशादा अन्तर्गतको र्यापिड बायप्सी अफ पेष्टीसाइट रेसिड्यू इकाईबाट हुँदै आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार चालु आवमा १७ हजार ४६ वटा आयातित फलफू तथा तरकारीका नमूनाहरूको विषादी परीक्षण गरिएकोमा १२ वटाको नमूना प्रतिकूल देखिएको थियो ।
विश्व स्वास्थ संस्थानका अनुसार विश्वमा एक व्यक्तिले एक दिनमा ४०० ग्रामसम्म तरकारी तथा फलफूल सेवन गर्छन् । नेपालमा एक जना व्यक्तिले १ वर्षमा ११४ केजीसम्म तरकारी तथा फलफूल उपभोग गर्ने गरेको कृषि तथ्यांकले देखाएको छ । यसरी तरकारी तथा फलफूलको माग बढेसँगै देशमा आयात बढ्दो छ । उत्पादन निकै कम रहेको छ ।
कृषि प्रधान देश भनिए पनि नेपाल अझै तरकारी, फलफू, खाद्यन्नमा परनिर्भर रहेको छ । तरकारी, फलफूल लगायतमा आत्मनिर्भर हुन सकनिे भए पनि व्यवसायिक खेती प्रणाली अपनाउन नसक्दा अझै विदेशीकै भरमा बाँच्नु परेको छ ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा २ लाख ८४ हजार १२१ हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुन्छ । उक्त क्षेत्रफलमा ३९ लाख ९३ हजार १६७ मेट्रिकटन तरकारी मात्र उत्पादन हुने गर्छ । ताजा तरकारीको उत्पादकत्व १४.०५ मेट्रिकटन प्रति हेक्टर रहेको छ । उक्त उत्पादकत्व ०.७८ प्रतिशतले बढ्ने अन्मान गरिएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा २ लाख ७० हजार २७८ मेट्रिकटन तरकारी भित्रिएको थियो । सो मध्ये २९.३३ प्रतिशत वस्तु भारतीय बजारबाट भित्रिएका थिए । अन्य भक्तपुर, काभ्रे, नुवाकोट, नवलपरासि, दोलखा, गोर्खा, पर्सा, मोरङ, रामेछाप, सल्यान, रोल्पा, सर्लाही, सिन्धुपाल्चोक, सिराहा, बारा, ललितपुरबाट तरकारी आएका छन् ।