भक्तपुर घुम्ने विदेशी पर्यटक बढे, साढे १३ करोड ४४ लाख शुल्क संकलन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ ।

भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९/८० को ९ महिनामा १ लाख १६ हजार ८१२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आवको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

उनले भने, ‘चालु आवको चैतसम्म भक्तपुरमा ६७ हजार ७०० जना गैरसार्क राष्ट्रका र ४९ हजार ११२ जना चीनसहितका सार्क राष्ट्रका पर्यटकको आगमन भएको छ ।’

गत आव २०७८/७९ को सोही अवधिमा भक्तपुर नगर क्षेत्रका सम्पदाको आवलोकनका लागि गैरसार्क राष्ट्रबाट ११ हजार ४४० र सार्क राष्ट्र तथा चीनबाट ११ हजार ७२७ गरी कुल २३ हजार १६७ पर्यटकको आगमन भएको थियो ।

गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार २६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार ३८५ गरी कुल ९३ हजार ६४५ बढी पर्यटकको आगमन भएको छ । यस अवधिमा भक्तपुर नगरपालिकाले गत वर्षको ९ महिनामा भन्दा रु ११ करोड १४ लाख ३१ हजार ५०० बढी पर्यटन शुल्क सङ्कलन गरेको छ  ।

गत आव २०७८/७९ को समीक्षा अवधिमा नगरपालिकाले कुल रु दुई करोड ३० लाख २३ हजार ५०० पर्यटन शुल्क सङ्कलन गरेकामा चालु आवको यो नौ महिनामा नगरपालिकाले गैरसार्कका पर्यटकबाट रु १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु दुई करोड ४५ लाख ५६ हजार गरी कुल रु १३ करोड ४४ लाख ५५ हजार पर्यटन शुल्क सङ्कलन गरेको छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग नेरु १ हजार ५०० बाट रु ३०० शुल्क वृद्धि गरि रु १ हजार ८०० कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो ।

भक्तपुर नगरमा हाल दैनिक पाँचदेखि छ सयको हाराहारीमा विदेशी पर्यटक आगमन हुने गरेको छ । भक्तपुर घुम्न प्रायः भारत, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटकको आगमन बढ्न थालेको नगरप्रमुख प्रजापतिले बताए।

भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र भएको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका विभिन्न पेसा व्यवसायीमा पनि आर्थिक गतिविधि बढ्न थालेको छ । भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा हाल यो एक वर्षमा १४ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न गरेको र अन्य दर्जनौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार जारी राखेको बताएको छ ।

अघिल्लो पाँच वर्षमा भक्तपुर नगरपालिकाले एक सय २४ वटा सम्पदा जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो ।

सञ्जयले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल, सिनियरतर्फको उपाधि भगवानलाई Read Previous

सञ्जयले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल, सिनियरतर्फको उपाधि भगवानलाई

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट