विकास बैंकहरुको नाफा २८ प्रतिशतले घट्याे, कुनले कति कमाए ?

काठमाडौं । विकास बैंकहरूकाे नाफा घटेकाे छ । वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरूकाे चालू आर्थिक वर्षकाे तेस्राे त्रैमाससम्म खुद नाफा औषतमा २७.७१ प्रतिशतले घटेको हाे।

संस्थाहरूले प्रकाशित गरेकाे वित्तीय विवरण अनुसार यस अवधिमा ३ विकास बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ।
गत वर्षकाे तेस्रो त्रैमाससम्म औषतमा ३९ कराेड २३ लाख रूपैयाँ खुद नाफा कमाएका बैंकहरूकाे समीक्षा अवधिमा घटेर २८ कराेड ३६ लाखमा सिमित भएकाे छ ।

यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको नाफा बढेको छ भने अरू बैंकको नाफा घटेको छ।

बैंककाे ब्याजदर वृद्धिले लागत बढाउँदा खुद ब्याज आम्दानी घटेकाे छ भने अर्काेतिर लगानी गरेकाे रकम खराब कर्जामा परिणत हुँदा प्राेभिजनिङ बढेकाे छ ।
जसकाे कारण बैंक तथा वित्तीय संस्थाहरूले उल्लेख रूपमा नाफा बढाउन सकेका छैनन् । त्यसकाे असर विकास बैंकमा पनि देखिएकाे छ ।

खराब कर्जाले नाफा प्रभावित

विकास बैंकहरूकाे नाफा घट्नुकाे मुख्य कारण भने खराब कर्जा वृद्धि भएकाे देखिन्छ । संस्थाहरूकाे खराब कर्जा बढ्दा त्यसकाे धक्का व्यवसायमा लागेकाे छ । सार्वजनिक वित्तीय विवरण अनुसार एक वर्षमा बैंकहरुको खराब कर्जा दाेब्बरले बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १.८१ प्रतिशत रहेको खराब कर्जा बढेर चालु आर्थिक वर्षको सोहि अवधिमा ३.६१ प्रतिशत पुगेको छ।

बैंकहरूले चालू वर्षमा तरलता अभावका कारण एकातिर कर्जा लगानी गर्न सकेका छैनन् भने अर्काेतिर लगानी गरेकाे रकम लगानी समेत समयमै असुली नहुँदा खराब कर्जा बढेकाे छ। प्रकाशित वित्तीय विवरण अनुसार ५ विकास बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा बढी छ ।

ग्रिन डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.९८ प्रतिशत छ भने नारायणी डेभलपमेन्ट बैंकको ४.८१ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४.६२ प्रतिशत, सिन्धु विकास बैंकको ४.२७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१८ प्रतिशत रहेको तथ्यांक छ ।

कुन बैंकले कति नाफा कमाए ?

यस अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। ९ महिनामा यश बैंकले चैतसम्ममा ८० करोड रुपैयाँ नाफा कमाएको छ।

दाेस्राेमा गरिमा विकास बैंकले ६५ करोड रुपैयाँ नाफा कमाएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५५ करोड, लुम्बिनी विकास बैंकले ४६ करोड, महालक्ष्मी विकास बैंकले ३७ करोड, कामना सेवा विकास बैंकले ३० करोड र सांग्रिला डेभलपमेन्ट बैंकले २४ करोड रुपैयाँ नाफा कमाएको छ।

विवरण अनुसार नारायणी डेभलपमेन्ट बैंक ३ करोड रुपैयाँले घाटामा छ भने सिन्धु विकास बैंक पनि करिब डेढ करोड रुपैयाँले घाटामा रहेकाे छ ।

धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस Read Previous

धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

बन्दीपुर केबलकारको डिब्बा जडान सुरू,  केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन गरिने Read Next

बन्दीपुर केबलकारको डिब्बा जडान सुरू,  केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन गरिने