काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ९ वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ९ बैंकलाई कारबाहीमा परेका हुन् ।
राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्ने बैंकहरुमा साविकको एनसीसी, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, साविकको सेञ्चुरी कमर्शियल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रहेका छन् ।
अधिकांश बैंक कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसक्दा राष्ट्र बैंकको काराबाहीमा परेका हुन् । हाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशत तोकेको छ ।
कारबाहीमा परेका बैंकहरुलाई राष्ट्र बैंकले कुल १४ करोड ७१ लाख रुपैयाँ जरिवाना समेत तिराएको छ । साउन र भदौमा सीडी रेसियो कायम गर्न नसकेको साविकको सेञ्चुरी कमर्शियल बैंक २ करोड ८४ लाख रुपैयाँ जरिवानामा परेको छ ।
त्यस्तै, साउनमा सीडी रेसियो काम नगर्दा नेपाल बैंक १५ लाख ५९ हजार रुपैयाँ, भदौ महिनामा कायम गर्न नसक्दा कृषि विकास बैंकले ६९ लाख ५८ लाख रुपैयाँ र हिमालयन बैंकले ७१ लाख ७२ हजार रुपैयाँ जरिवानामा परेका छन् ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले भदौ र असोजमा सीडी कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ र नबिल बैंकले पहिलो त्रैमासका तीनै महिना सीडी रेसियो सीमाभन्दा माथि पुगेपछि ६ करोड ४६ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
त्यसैगरी, सम्पति शुद्धीकरणको व्यवस्था अनुसार काम नगर्दा राष्ट्रिय वाणिज्य बैंक पनि १० लाख रुपैयाँ जरिवानामा परेको छ ।