काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडौं द्रुतमार्गको अवलोकन अनुगमन गरेका छन् । दाहालले सोमबार बकैया–५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गरेका हुन ।
अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले दु्रतमार्ग निर्माणको काम सन्तोषजनक रहेको बताए। दु्रत मार्ग देशको अति महत्वपूर्ण आयोजना भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । उनले दु्रतमार्ग निर्माणमा उत्पन्न समस्या समाधान गरिने बताए । यससँग सम्बन्धित आवश्यक विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सहजीकरण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।
‘यस मार्गको निर्माणको अवस्थाबारे नेपाली सेनाबाट मैले धेरै जानकारी लिइसकेको छु’, उनले भने । प्रधानमन्त्री दाहालले राजदमारसहित बकैयाको लेनडाँडास्थित सुरुङमार्ग तथा भीमफेदी–८ महादेवटारमा निर्माणाधीन सुरुङमार्गको स्थलगत अनुगमन गरेका हुन।
झण्डै चार वर्ष अगाडि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) पारित भएपछि नेपाली सेनाले काम थालेको हो । काठमाडौँलाई देशको पूर्वी भाग तथा मधेशसँग जोड्ने द्रुतमार्गको लम्बाइ ५५ दशमलव पाँच किलोमिटर, १० दशमलव छ किलोमिटर पुल तथा छ दशमलव पाँच किलोमिटर सुरुङ रहेको छ ।
निर्माण सम्पन्न गर्न करिब रु दुई खर्ब १५ अर्ब खर्च हुने अनुमान गरिएको छ ।