काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ९ महिना (साउन–फागुन) सम्म झन्डै ४९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २२ वाणिज्य बैंकहरूले फागुन मसान्तससम्म ४८ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले खुद नाफा ४६ अर्ब ८६ करोड रुपैयाँ कमाएका थिए । गत वर्षको तुलनामा चालु आवमा बैंकहरूको नाफा ४.२० प्रतिशत अर्थात् १ अर्ब ९७ करोड रुपैयाँ बढेको हो ।
फागुन महिनामा मात्रै बैंकहरूले कुल ७ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रमा आएको संकुचन, तरलता अभाव, कर्जा असुली नहुनु लगायत कारणले बैंकहरूको नाफा प्रभावित बन्न पुगेको हो ।
बैंकहरूले आर्थिक वर्षको सुरुमा तरलता अभावको सामना गरे भने त्यसपछि कर्जा माग नहुँदा लगानी गर्न सकेका छैनन । जसको असर संस्थाहरूको आम्दानीमा देखिएको छ ।
मुद्दती निक्षेपको हिस्सा बढ्दो र महंगो ब्याजमा स्रोत जुटाउनु परेपछि संस्थाहरूको लागत बढ्दो छ । लागत वृद्धि हुँदा कर्जाको ब्याजदर पनि त्यही अनुसार बढेको छ । जसको कारण महंगो ब्याजले लगानीको माग नभएको बैंकरहरू बताउँछन् ।
संस्थाहरूले यस अवधिसम्म डेढ खर्ब रुपैयाँ सम्म कर्जा लगानी गर्न सकेका छैनन् । लगानी नबढ्दा वित्तीय संस्थाको नाफा मात्र नभएर आर्थिक चक्रमै समस्या देखिएको छ । त्यसबाट वित्तीय क्षेत्र समेत मुक्त रहन सकेको देखिँदैन ।
अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणीहरूले नियमित कर्जा तिर्न सकेका छैनन् । नियमित ऋण असुल नभएपछि बैंकहरूले ठूलो रकम प्रोभिजन गर्नुपर्ने अवस्था आएको छ ।
बैंकको कर्जा ऋणीले समयमै तिर्न नसक्दा संस्थाहरूले कर्जा जोखिम वापतको रकम प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था छ । सोही अनुसार बैंकहरूको प्रोभिजनिङ रकम बढेको छ भने त्यसको असर खुद नाफामा परेको छ ।
एकातिर कर्जा लगानी नै हुन सकेको छैन भने अर्कोतर्फ लगानी भएको कर्जा पनि नियमित उठ्न छाडेको छ । एक वर्षमै बैंकहरूको खराब कर्जा दोब्बरले बढेको छ भने आगामी दिनमा सो रकम अझै वृद्धि हुने प्रक्षेपण गर्न थालिएको छ ।
फागुनसम्म कुन बैंकले कति कमाए ?
समीक्षा अवधिमा २२ वटा वाणिज्य बैंकमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । फागुनसम्म नबिलले ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ । बैंकिङ लिडर समेत रहेको नबिलले गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेपछि प्राप्त सिनर्जीबाट आफ्नो वर्चश्व कायमै राख्न सफल भएको हो ।
शाखा र चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई र अर्को एनआइसी एसीया बीच नाफामा प्रतिस्पर्धा देखिएको छ । ग्लोबलले ४ अर्ब ३७ करोड रुपैयाँ कमाउँदा एनआइसीले ४ अर्ब रुपैयाँ आर्जन गरेको छ ।
यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र इन्भेष्टमेन्ट मेगा बैंकले ३/ अर्ब रुपैयाँ बढी कमाएका छन् । एनएमबी, प्राइम कमर्सीयल, स्ट्याण्डार्ड चार्टर्ड, एभरेष्ट, नेपाल। कुमारी र प्रभु बैंकले २/२ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् ।
हिमालयन, सानिमा, एसबीआई, सिद्धार्थ, माछापुच्छ्रे लक्ष्मी, सिटिजन र सनराइज बैंकले १/१ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् ।
समीक्षा अवधिमा कृषि विकास बैंकको नाफामा सबैभन्दा कम छ । यस बैंकले यस अवधिमा ४१ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।