काठमाडौं । गत आर्थिक वर्षदेखि बाह्य क्षेत्रको दबाब हटाउन लिइएका नीतिहरूले आन्तरिक अर्थतन्त्रमा मन्दी छ । बजारमा तरलता प्रवाहमा गरेको कडाइ, मूल्यवृद्धि, महंगो ब्याजका कारण माग संकूचन हुँदा आर्थिक गविविधिमा सुस्तता देखिएको छ ।
सरकारको आम्दानी र खर्चको असन्तुलन बढ्दै गएको छ भने आर्थिक वृद्धि गत वर्षकोभन्दा कम हुने प्रक्षेपण गरिएको छ । बैंकहरूको कर्जा लगानीको वृद्धिदर एकदशक एताकै न्यून छ भने ब्याजदर उच्च छ । लगानी नहुँदा उत्पादन प्रभावित भएको छ नै उत्पादन भएका वस्तुहरूको समेत खपत हुन सकेको छैन ।
आन्तरिक अर्थतन्त्रमा देखिएको यही समस्याको कारण सरकारदेखि निजी क्षेत्रसम्म झस्किएको छ । अघिल्ला वर्षहरूमा नेपाल राष्ट्र बैंकले कोभिडपछि सिथिल बनेको अर्थतन्त्र पुनरुत्थानका लागि बजारमा व्यापक तरलता प्रवाह गर्ने नीति लिएको थियो ।
जसको कारण गत वर्ष एकातिर माग वृद्धि हुँदा वस्तुको आयात उच्च भएर व्यापार घाटाले नयाँ रेकर्ड बनायो भने अर्कोतर्फ मुलुक भित्रिनेभन्दा बाहिरिने रकमको हिस्सा धेरै हुँदा विदेशी मुद्रा संचिति र भुक्तानी सन्तुलनमा ठूलो चाप देखियो ।
तर त्यसअवधिमा सेयर बजारले नयाँ उचाइ लियो भने घरजग्गाको कारोबार र मूल्य वृद्धिको रफ्तार रोकिएन । त्यसपछि राष्ट्र बैंकले बाह्य चाप कम गर्न लिएको कसिलो नीतिले यी क्षेत्रहरू ओरालो लाग्न थाले ।
अहिले सेयर बजार करिब ५० प्रतिशतले तल झरेको छ भने घरजग्गा कारोबारमा गत जेठदेखि मन्दी छ । सोही कारण प्रणालीको रकम घरजग्गा र सेयर बजारमा गएको भन्दै यी क्षेत्र चलायमान बनाएमात्र आन्तरिक अर्थतन्त्रको समस्या समाधान हुने प्रधानमन्त्रीदेखि अर्थमन्त्री, निजी क्षेत्रले अभिव्यक्ति दिइरहेका छन् ।
घरजग्गा कारोबार र सेयर बजारप्रति लिइएका कठोर नीतिहरू माग गर्दै निजी क्षेत्रले सरकारसँग लबिङ गरिरहेको छ भने सरकारी अधिकारीहरूले पनि सक्दो प्रयास गरिरहेको बताइरहेका छन् ।
घरजग्गा र पूँजी बजार कति हिस्सेदार ?
गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फस्दा बजारमा तरलता अभाव र अर्थतन्त्रमा अहिलेको समस्या देखिएको बताएका थिए । दाहालले भनेका थिए,‘पूँजीको अभाव हुनुको एउटा कारण जग्गामा गएर पैसा फसेको छ । कित्ताकाट र बेचबिखन रोकिएको छ । अहिलेलाई जग्गाको वर्गीकरण थाँति राखेर भए पनि पुरानै स्थितिमा लैजान सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने तयारी भइरहेको छ ।’
उनले हाल कार्यान्वयनमा आएको भूउपयोग नियमावलीलाई थाँति राखेर पुरानै अवस्थामा जग्गाको कित्ताकाट समेत खोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसपछि अहिलेको संकट व्यवस्थापन हुने बताए ।
सोही साता अर्थमन्त्री अर्थमन्त्री प्रकाशशरण महतले पनि घरजग्गा कारोबारमा देखिएको मन्दी सम्बोधन गर्न प्रधानमन्त्रीसँँग छलफल भइरहेको बताए । ‘घरजग्गामा देखिएको मन्दी र कित्ताकाटमा देखिएको समस्यालाई समाधान गर्न प्रधानमन्त्रीसँग छलफल भइरहेको छ,’ उनले भनेका थिए ।
अर्थशास्त्री रघुवीर विष्ट अर्थतन्त्रको ६०/७० प्रतिशत क्रियाकलाप भूमिमा आधारीत भएकाले यसको कारोबारमा आएको गिरावटले अर्थतन्त्र मन्दी आउनमा टेवा पुर्याउने बताउँछन् ।
‘हाम्रा जुन आर्थिक क्रियाकलाप छ्न, ती मुख्यतः ६०/७० प्रतिशत भूमि बेस् छन् । भूमि सम्पत्ति हो, लगानीको क्षेत्र हो, व्यवसायीक कारोबारको लागि चाहिने धितो हो,’ उनले भने, ‘यसको कारोबार र किनबेच स्थानीय तह, मालपोतले संकलन गर्ने राजस्व, बैंक तथा वित्तीय संस्थाको लगानी, अनौपचारिक अर्थतन्त्रसँग पनि जोडिएको छ । जसको कारण कारोबारमा सिथिलता आउने बित्तिकै अर्थतन्त्रमा समेत गहिरो समस्या ल्याउने गरेको छ ।’
बैंक तथा वित्तीय संस्थाहरूको लगानी पनि घरजग्गामा रहेको र त्यसलाई नै राखेर व्यापार व्यवसाय तथा अन्य प्रयोजनका लागि लिएको रकम सेयर बजारमा हुँदा मार्केट पनि बुम भएको उनले बताए ।
जब त्यो लगानीमा कडाइको नीति लिइयो त्यसपछि आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको यस क्षेत्रका जानकारहरू बताउँछन् । घरजग्गा तथा आवास व्यवसायीहरू घरजग्गा कारोबारमा देखिएको मन्दीको असर निर्माण क्षेत्र र उत्पादनमा समेत देखिएको बताउँछन् ।
घरजग्गाको कारोबार नबढ्दा निर्माण सामग्रीहरू, स्टील, रड, सिमेनट लगायतको माग वृद्धि भएको छैन । सरकारले यस वर्ष गत वर्षको तुलनामा पूँजी बजारबाट प्राप्त हुने लाभकर संकलन गर्न सकेको छैन । बजारमा व्यापक गिरावट आउँदा त्यस अनुसार बजार पूँजीकरण र राजस्व पनि खुम्चिएको छ ।
त्यसैगरी, अघिल्लो वर्षको तुलनामा घरजग्गा बापत प्राप्त गर्ने राजस्वमा पनि ठूलो गिरावट आएको छ । जसको कारण एकातिर सरकारको आम्दानीमा धक्का पुगेको छ भने अर्कोतिर आर्थिक गविविधिहरू पनि संकुचन भएका छन् ।