‘पेनिक’ सेयर बजारमा नयाँ वर्षसँगै देखिएका ‘चाँदीका घेरा’

काठमाडौं । देशको अर्थतन्त्रकाे ऐना मानिने पूँजी बजारका लागि वर्ष २०७९ निकै संकटपूर्ण र निराशजनक रह्यो । वर्षको सुरूआतमा करिब २५०० विन्दुमा रहेको नेप्से यस वर्ष १८०० विन्दुसम्म आइपुग्यो । यस अवधिमा लगानीकर्ताले झन्डै ६ खर्ब सम्पत्ति गुमाए ।

कोभिडकालमा बैंकिङ प्रणालीमा भएको अधिक तरलता र सस्तो ब्याजदरले २०७८ मा सेयर बजारलाई कीर्तिमानी उचाइ चुमे पनि २०७९ मा भने संकटैसंकटमा रह्यो ।

नेपाल राष्ट्र बैंकको कडाइ, बैंकिङ प्रणालीमा भएको तरलता अभाव, ब्याजदर वृद्धि, अर्थतन्त्रमा आएको संकुचन, सत्ता समीकरणमा आएको फेरबदल लगायत कारण २०७९ मा नेप्से करिब एकचौथाईले घट्यो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ एक जना व्यक्तिले समग्र बैंक तथा वित्तीय प्रणालीबाट १२ करोड बढी ऋण लिन नपाउने व्यवस्था गर्यो । त्यस्तै, सेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्यायो । त्यस्तै, बेलाबेलामा राष्ट्र बैंक र अर्थमन्त्रीको टसलका कारण सेयर बजार प्रभावित बन्न पुग्यो ।

अघिल्लो वर्ष एकल अंकमा रहेको ब्याजदर यस वर्ष १८ प्रतिशतसम्म पुग्यो । तरलता अभावका कारण निक्षेप महँगोमा निक्षेप तान्ने होड र राष्ट्र बैंकले गरेको नीतिगत बैंकदर वृद्धिका कारण बैंकहरूको आधारदर नै झन्डै ११ प्रतिशत पुग्यो । त्यसमा प्रिमियम जोड्दा बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशत पुर्याएका थिए ।

राष्ट्र बैंकको कडाइ र महँगो ब्याजका कारण लगानीकर्ताले कर्जा लिएर लगानी गर्न सक्ने अवस्था रहेन भने यसअघि ऋण लिएर लगानी गरेकाहरूले पनि महँगो ब्याजका साथै बजार घट्दा दोहोरो नोक्सानी व्यहोर्नु पर्यो ।

२०७९ चुनावी वर्ष भए पनि सेयर बजारले अपेक्षित गति लिन सकेन । यस्तै, अर्थतन्त्रमा आएको संकुचनका कारण समग्र आर्थिक गतिविधि शिथिल हुँदा लगानीकर्ताको मनोवल पनि गिर्दो रह्यो ।

नयाँ वर्षसँगै पलाएका आशाका पालुवा

नेपाली नयाँ वर्ष २०८० को सुरूआती समयमा सेयर बजारका लागि केही चाँदनीका घेरा देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले दोहोरो अंकमा रहेको निक्षेपको ब्याजदर घटाएर वैशाखदेखि एकल अंक अर्थात् १० प्रतिशत भन्दा कम गर्ने भएका छ । विगत डेढ वर्षदेखि बढ्दो क्रममा रहेको निक्षेपको ब्याजदर घट्ने भएसँगै कर्जाको पनि ब्याजदर घट्दै छ । ब्याजदर घट्दा समग्र अर्थतन्त्रका साथै सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

अहिले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । विकास निर्माणको सिजन भएकाले अब पूँजीगत खर्च बढ्दै जानेछ । जसले तरलता व्यवस्थापनलाई झन् सहज बनाउने देखिन्छ । तरलता सहज भएसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्नेछ ।

पूर्वबैंकर तथा वित्तीय क्षेत्रका विश्लेषक अनलराज भट्टराई बजारले ब्याजदरलाई आधारको रूपमा लिएको देखिएकाले घट्ने बेला सकारात्मक प्रक्रिया देखिने गरेको बताउँछन् । ‘बजारले आजको ब्याजदर घटाउने न्यूजलाई सकारात्मक रूपले लिएको देखियो । हाम्रो मार्केटले ब्याजदर वृद्धि हुँदा नकारात्मक प्रतिक्रिया दिन थालेको देखिन्छ,’ उनले भने, ‘अब बजारमा पैसा बढ्दै र ब्याजदर घट्दै गयो भने एक प्रकारले सकारात्मक हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।’

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि बजारको विकास र सुधारका लागि विभिन्न काम गरिरहेको छ । पछिल्लो समय बोर्डले धमाधम ब्रोकर शाखा विस्तार गर्न अनुमति दिइरहेको छ । यस्तै, बिहीबार मात्रै नयाँ स्टक एक्स्चेन्ज र कमोडिटी एक्स्चेन्जको लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ भने बोर्डले नयाँ ब्रोकरको लाइसेन्स पनि दिने तयारी गरिरहेको छ ।

त्यस्तै, पछिल्लो समय सरकारले अर्थतन्त्रका समाधानलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म अर्थतन्त्र समस्या समाधानका लागि दौडधूप र सरोकारवालासँग छलफल र सहकार्य गरिरहेका छन् । यद्यपि, सेयर बजारलाई सरकारभन्दा पनि राष्ट्र बैंकका नीतिनियमले धेरै प्रभाव पार्ने भएकाले गभर्नर महाप्रसाद अधिकारी कति लचक हुन्छन् भन्नेमा भर पर्छ । लामो समयदेखि लगानीकर्ताले सेयर धितो कर्जाको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि गभर्नर अधिकारीले अहिलेसम्म सम्बोधन गरेका छैनन् ।

राष्ट्र बैंकको नीति कस्तो आउँछ भन्ने हिसाबले पनि बजारको अवस्था निर्धारण गर्ने भट्टराई बताउँछन् । ‘राष्ट्र बैंकले अब मौद्रिक समीक्षा गर्छ । त्यसपछि संस्थाहरूका रिपोर्टहरू आउँछन् । त्यसले उनीहरूको वित्तीय अवस्था, खराब कर्जाको स्थिति र ब्याजदर भुक्तानीको अवस्था कस्तो रहन्छ त्यसले पनि फरक पार्छ,’ उनले भने, ‘सरकारले बजेटको तयारी गरिरहेको छ, त्यसका नीतिहरू कस्ता रहन्छन् भन्ने पनि हुन्छ ।’

यस्तै, गत असोज यता अर्थतन्त्रका बाह्य सूचकमा लगातार सुधार आएको छ । विदेशी मुद्रा संचिति, शोधान्तर स्थिति, चालु खाता, रेमिट्यान्स आप्रवाहमा सुधार आउँदा दबाब कम हुँदै गएको छ । यद्यपि, अर्थतन्त्रका आन्तरिक सूचकहरूमा भने दबाब कायमै छ ।

सेयर बजार घट्ने र बढ्ने चक्र हुन्छ । बजार लगातार घटिरहने र बढिरहने मात्रै हुँदैन । डेढ वर्ष यता लगातार घटेर तल्लोविन्दुमा आएको सेयर बजारले अब क्रमशः गति लिने लगानीकर्ता बताउँछन् ।

यो अवधिमा अपवाद बाहेक विगतका वर्षहरू हेर्दा बजारले सकारातमक उचाइ लिने गरेको र ब्याजदरको गाह्रो ढोका खुलेका कारण आशावादी हुने ठाउँ रहेको भट्टराईले बताए ।

‘साधारणतया पछिल्लो दुई तीन वर्षको अवस्था हेर्दा चैतदेखि असारको मध्येसम्म धेरै जसो स्टक मार्केट सकारात्मक रूपमा गइरहेको देखिन्छ । त्यसकारण पनि यो समयमा उचाइमा जाने सम्भावना छ,’ उनी भन्छन्, ‘त्यसमा पनि राष्ट्र बैंकको नीतिगतदर कस्तो रहन्छ भनने हो । ढोकाहरू धेरै छन्, एउटा गाह्रो ढोका चाहिँ खुला भएको छ । समस्या छ तर केही आशावादी हुने अवस्था छ ।’

सेयर बजारसँग सम्बन्धी विभिन्न पक्षको सुधारको संकेतले कालो बादलमाथि चाँदीको घेरा देखाएको छ । आगामी दिनमा ती चाँदीका घेरा कालो बादले ढाक्ला वा झन् चम्किँदै जालना, त्यो भने समयले नै बताउने छ ।

 

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन, अब उत्पादित तरकारी खेर नजाने Read Previous

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन, अब उत्पादित तरकारी खेर नजाने

बीवाइडीका गाडी किन्न एनएमबी बैंकले ८०% ऋण दिने, ब्याजदर कति ? Read Next

बीवाइडीका गाडी किन्न एनएमबी बैंकले ८०% ऋण दिने, ब्याजदर कति ?