काठमाडौं । देशको पाँचौं केबलकारको रूपमा मौलाकालिका केबलकार संचालनमा आएको छ ।
नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नं. १ देखि मौलाकालिका मन्दिरसम्म पुग्ने केबलकार आजदेखि संचालनमा ल्याइएको हो ।
शुक्रबार बिहान केबलकारको तल्लो स्टेशनबाट १०० वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यात्रा गर्दै केबलकार सेवा सुरु गरिएको हो । यद्यपि, केबलकारको औपचारिक उद्घाटन भने वैशाख दोस्रो सातासम्म गरिने मैलाकालिका केबलकार प्रालिले जनाएको छ ।
केबलकारको दुईतर्फी टिकट शुल्क ५५० रुपैयाँ तोकिएको छ । त्यस्तै, विद्यार्थी र जेष्ठ नागरिक (८० वर्षभन्दा कम)का लागि ४१५ रुपैयाँ, अपांगता भएका व्यक्तिका लागि २७५ रुपैयाँ र ३ देखि ४ फिट उचाइका बालबालिकाका लागि ३३० रुपैयाँ तोकिएको छ । ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा कम उचाइ भएका बालबालिकाको लागि निःशुल्क रहेको कम्पनीले जनाएको छ ।
आइएमइ समूहले डेढ अर्ब लगानीमा यो केबलकार निर्माण भएको हो । मौलाकाली मन्दिर नजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माण भइरहेकाे छ ।
केबलकारले एकतर्फी लम्बाइ १ हजार २०० मिटर लामो छ । यसका लागि ६ टावर निर्माण भएका छन् । केबलकार १२ यात्रुबाहक र २ सामान बोक्ने गरी १४ डब्बा राखिएका छन् ।
एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न ५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
केबलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको छ ।
मौलकालिका केबलकार संचालनमा अँएसँगै नेपालमा केबलकारको संख्या ५ पुगेको छ । यसअघि गाेरखाकाे मनकामना, काठमाडाैंकाे चन्द्रागिरी, दाेलखाकाे कालिञ्चोक र पाेखरामा अन्नपूर्ण केबलकार संचालनमा छन् ।