काठमाडौं । निजी क्षेत्रको सबैभन्दाठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआइ)को पदाधिकारी चयनका लागि निर्वाचन सुरु भएको छ ।
महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुने भए पनि अन्य पदका लागि निर्वाचन हुन लागेको हो । आज हुने निर्वाचनले ६४ पदाधिकारी चयन गर्नेछ । जसका लागि ११८ जना चुनावी मैदानमा छन् ।
आज हुने निर्वाचनले महासंघको आगामी ३ वर्षपछि हुने अध्यक्ष चुन्ने छ । अहिले वरिष्ठ उपाध्यक्ष बन्ने व्यक्ति नै ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन् ।
वरिष्ठ उपाध्यक्षका लागि त्रिपक्षीय भिडन्त भएको छ । वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई प्यानलसहित मैदानमा उत्रिएका छन् ।
महासंघको विधान अनुसार पहिलो चरणमा तीन जनामध्ये कुनै एकले ५१ प्रतिशत मत नल्याए फेरि दोस्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणमा धेरै मत ल्याउने दुई जना बीच प्रतिस्पर्धा हुनेछ ।
अहिले तीनै जना प्रतिस्पर्धी सबै शक्ति लगाइ चुनावी मैदानमा छन् । व्यापारिक घरानाको प्रतिष्ठा समेत जोडिएकाले तीनै जनाले सामदाम, दण्डभेदको अस्त्र प्रयोग गरेकाले कसले चुनाव जित्छ भन्ने आकलन गर्न सक्ने अवस्था छैन । महासंघको चुनावमा राजनीतिक दलको समेत प्रभाव पर्ने गरेको छ ।
त्यस्तै, महासंघको ३ उपाध्यक्षका लागि ८ जना मैदानमा उत्रिएका छन् । एसोसियट उपाध्यक्षतर्फ रामचन्द्र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ र उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठका साझा उम्मेद्वारको रुपमा भरत आचार्य प्रतिस्पर्धाम छन् ।
त्यसैगरी, जिल्लानगर उपाध्यक्षमा उमेशलाल समूहबाट दिनेश श्रेष्ठ, अन्जन प्यानलबाट अरुण सुमार्गी र संघाई प्यानलबाट शुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन् ।
त्यस्तै, वस्तुगत उपाध्यक्षमा अन्जन समूहबाट मणिषलाल प्रधान, उमेशलाल समूहबाट हेमराज ढकाल र संघई प्यानलबाट सकुन्तलाल हिराचन चुनावी मैदानमा छन् । यस्तै, अन्य ६० पदाधिकारीका लागि ११० जना प्रतिस्पर्धामा उत्रिएका छन् ।
बिहान १० बजेदेखि सुरु भएको निर्वाचन बेलुका ४ बजेसम्म हुनेछ भने ५ बजेदेखि मतगणना निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिका अनुसार यसपटक महासंघको जिल्लानगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३ र एसोसियटतर्फ १ हजार ७६२ मतदाता छन्।