काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुलाएको हो ।
सरकारले गत जेठमा लागू गरेको भू उपयोग नियमावली अनुसार हरेक स्थानीय तहले आफ्नो क्षेत्र भित्रको जग्गा कृषि र गैरकृषि वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था थियो ।
तर, सोही नियमावलीका कारण घरजग्गा व्यवसायमा गिरावट आएको र घरजग्गाकै कारण अर्थतन्त्रमै मन्दी आएको भन्दै सरकारले यथास्थितिमै कित्ताकाट गर्न पाउने व्यवस्था गरेको हो ।
यस्तै, सरकारले स्थानीय तहहरुलाई जग्गा वर्गीकरण गर्न समयसमेत थप गर्ने निर्णय गरेको छ । सरकारले गत मंसिर २३ गते भित्रै जग्गा वर्गीकरण गर्न समय सीमा दिएको भए पनि हालसम्म करिब १६० स्थानीय तहले मात्र जग्गा वर्गीकरण सम्पन्न गरेका छन् ।