झन्डै डेढ खर्बका आयोजना चिनियाँ ठेकेदारको हातमा, अधिकांशको काम सुस्त

काठमाडौं । नेपालमा संचालित विकास आयोजना मध्ये झन्डै १ खर्ब ३८ अर्ब बढी लागतका आयोजना चिनियाँ निर्माण कम्पनीको (नेपाली ज्वाइन्ट भेन्चरसहित) हातमा रहेका छन् ।

सडक, सुरुङमार्ग, प्रसारण लाइन, जलविद्युत् आयोजना लगायत डेढ दर्जन बढी ठूला र राष्ट्रिय गौरवका आयोजना चिनियाँ ठेकेदारले निर्माण गरिरहेका हुन् ।

ठेक्का लिएका आयोजनामध्ये धेरै जसो चिनियाँ कम्पनीले एकल रुपमा काम गरिरहेका छन् भने केही नेपाली कम्पनीसँग मिलेर काम गरिरहेका छन् ।

हाल नेपालमा झन्डै ७ खर्ब लागतका आयोजना विदेशी कम्पनीहरूले निर्माण गरिरहेका छन् । सो मध्ये चिनियाँ कम्पनीले मात्र झन्डै डेढ खर्ब लागतका आयोजना हात पारेका छन् ।

संख्याका आधारमा चिनियाँ कम्पनीले सबैभन्दा धेरै आयोजना निर्माणको ठेक्का पाएका छन् । हाल विदेशी निर्माण कम्पनीले ३ दर्जन बढी आयोजना निर्माण गरिरहेकामा चिनियाँ कम्पनीले मात्रै झन्डै दुई दर्जन आयोजनाको ठेक्का हात पारेका छन् ।

हाल चिनियाँ कम्पनीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गको ३ वटा सुरुङ, द्रुतमार्गकै प्याकेज ६ को पुल र सडक, सिद्धबाबा सुरुङ, नारायणगढ–बुटवल सडक, मुग्लिन पोखरा सडक, नागढुंगा–मुग्लिन सडक (तीनै खण्ड), कञ्चनपुर– कमला सडकको ठेक्का पाएका छन् ।

त्यसैगरी, सुनकोसी मरिन डाइभर्सन, मेलम्ची खानेपानी, तनहुँ जलविद्युत प्याकेज –२, तनहुँ जलविद्युत तेस्रो प्याकेज, रसुवागढी जलविदुत प्याकेज–१, मध्ये भोटेकोसी प्याकेज–१, तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन लगायत आयोजना निर्माण गरिरहेका छन् ।

अधिकांश आयोजनाको प्रगति सुस्त

चिनियाँ कम्पनीले ठेक्का हात पारेका अधिकांश आयोजनाको निर्माण प्रगति भने सुस्त रहेको छ । रुख कटान र बिजुलीका पोल सार्न ढिलाइ, कोरोना, कामदार अभाव लगायत कारण देखाउँदैै चिनियाँ ठेकेदारले सम्बन्धित आयोजनाको काममा ढिलासुस्ती गरेका हुन् ।

चिनियाँ कम्पनीमा ठेक्का हातपारेपछि काममा हेलचक्र्याइँ गर्ने प्रवृति बढ्दै जाँदा अधिकांश आयोजनाले गति लिन सकेका छैनन् भने नेपाली नागरिकले सास्ती समेत भोग्नु परेको छ । कतिपय आयोजना त पटकपटक म्याद थप्दा समेत सम्पन्न हुन सकेका छैनन् ।

चिनियाँ कम्पनीले ठेक्का पाउने आयोजनाको संख्या बढ्दो क्रममा रहे पनि समयमै सम्पन्न गरेका आयोजनाको संख्या निकै कम छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेल निर्माण कम्पनीको कमजोर क्षमताका कारण आयोजनाको निर्माण समयमै सम्पन्न नभएर लागत बढ्दै गएको बताउँछन् ।

विदेशी कम्पनीसँगको ज्वाइन्ट भेन्चरमा आयोजना हात पार्ने तर यहाँको ठेकेदारसँग काम गर्ने क्षमता नहुँदा समस्या देखिएको उनले बताए ।‘कन्ट्रयाक्टरको रुपमा भारत र चिनियाँ कम्पनीहरू पनि देखिन्छन्, तर काम गर्ने बेला फिल्डमा देखिँदैनन्,’ उनले भने, ‘नाम विदेशी काम नेपालीले नै गरेको देखिन्छ । त्यस्ता आयोजनाहरूको निर्माणमा ढिलाइ भएको छ ।’

विभागले यस्तो समस्या समाधान गर्न दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरेको उनले बताए । ‘एकदमै समस्या भयो भने सबैलाई कम्पनीलाई बोलाउँछौं । एक–एक पक्ष गरेर बोलाइँदैन । हाम्रो कानुन अनुसार संयुक्त भए पनि एउटै भन्ने बुझिन्छ,’ उनले भने, ‘जस्तो एडीबीले कुनै आयोजना निर्माणका लागि स्वदेशी र विदेशी गरेर संयुक्त कम्पनी हुनु पर्यो भन्यो भने त्यहाँ ५० प्रतिशत नै त्यो देशको ठेकेदार कम्पनी हुनुपर्छ भन्ने कानुनले तोकेको छैन । त्यसकारण केही नाम मात्र राखेर यहाँकै कम्पनीले निर्माण गर्न खोज्दा उसको क्षमताले भ्याउँदैन ।’

 कुन आयोजनाको कस्तो छ प्रगति ?

चिनियाँ ठेकेदारले निर्माण गरिरहेका अधिकांश आयोजनाको प्रगति न्यून छ । केही आयोजनाको पटकपटक म्याद थप्दा समेत पूरा हुन सकेका छैनन् ।

चिनियाँ कम्पनी चाइना स्टेटले ठेक्का पाएको नारायणगढ–बुटवल सडकको थपिएको म्याद सकिनै लाग्दा समेत बल्ल एक चौथाई काम पूरा भएको छ । ११३ किलोमिटर सडक दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको सो सडकको भौतिक प्रगति हालसम्म २८ प्रतिशत मात्र छ ।

१ वर्ष थपिएको म्याद आगामी असार मसान्तमा सकिने भए पनि अझै ६८ प्रतिशत बढी काम रहेको छ । थपिएको समयमा पनि काम सम्पन्न नहुने भएपछि ठेकेदारले फेरि म्याद थप्न माग गरेको छ । सुरुमा कुल १६ अर्ब ९९ करोड रुपैयाँमा ठेक्का लगाइएको यो आयोजनाको लागत अहिले बढाएर १७ अर्ब १ करोड रुपैयाँ र्पुयाइएको छ ।

त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत विस्तारको क्रममा रहेको मुग्लिन–पोखरा सडकको भौतिक प्रगति निकै कम छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी २०७८ वैशाखदेखि काम सुरु भएको यो सडक विस्तारको कामले गति लिन सकेको छैन । दुईखण्डमा विभाजन गरी काम भइरहेको यो सडकको हालसम्म समग्रमा १० प्रतिशत मात्र प्रगति भएको छ । पूर्वी खण्ड (मुग्लिन–जामुने) को ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने पश्चिम खण्ड (जामुनदेखि पोखरा) यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

त्यसैगरी, फास्टट्रयाक अन्तर्गत निर्माण भइरहेको ३ वटै सुरुङमार्गको काम पनि सुस्त गतिमा भइरहेको छ । काम सुरु गरेको ६ महिना बितिसक्दा हालसम्म करिब एकचौथाइ मात्र काम सकिएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्म र पोली च्याङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माणको ठेक्का पाएका हुन् । दुवैको ठेक्का २०७८ वैशाख ३१ मा तीन वर्षभित्र सक्ने गरी भएको हो ।

त्यस्तै, चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले निर्माण गरिरहेको कञ्चनपुर–कमला सडक निर्माणमा पनि ढिलाइ भएको छ । ८६.८२ किमी दूरीको कञ्चनपुर–कमला ठेक्का सम्झौताअनुसार २०८० कात्तिक ११ भित्र निर्माण सक्नुपर्ने भएपनि हालसम्म करिब २८ प्रतिशत मात्र काम पूरा भएको छ ।

चिनियाँ कम्पनीले ठेक्का पाएका अधिकांश आयोजनाको प्रगति चिन्ताजनक रहे पनि सुनकोसी मरिन डाइभर्सनको भने सन्तोषजनक रहेको छ । चाइना ओभरसिज इन्जिीनियरिङले ठेक्का पाएको यो आयोजनाको प्रगति ४ महिनामै १५ प्रतिशतभन्दा बढी भइसकेको छ ।

 

७५३ स्थानीय तहमै फोरजी सेवा पुर्‍याउने टेलिकमको तयारी Read Previous

७५३ स्थानीय तहमै फोरजी सेवा पुर्‍याउने टेलिकमको तयारी

अब ५० लाखसम्मको कर्जा अग्रिम भुक्तानी गर्दा शुल्क लिन नपाउने Read Next

अब ५० लाखसम्मको कर्जा अग्रिम भुक्तानी गर्दा शुल्क लिन नपाउने