काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ७१ लाख ८६ हजार १०० रुपैयाँ बराबरको १२ लाख ७१ हजार ८६१ कित्ता विक्रीमा ल्याएको हो ।
सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपीओमा वैशाख ३ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख १२ गतेसम्म आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ।