ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं, ऋण तिर्दिन भन्नेलाई छोड्नु हुन्न : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् ।

अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले सोमबार सिंहदरबारमा आयोजित बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।

‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

बैंकको ऋण लिएर तिर्दिनु भन्नु अराजकता भएको उनको टिप्पणी छ । ‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ प्रचण्डले भने, ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ ।’

उनले पछिल्ले समय अर्थतन्त्रको बाह्य सूचकमा सुधार हुँदै गएको बताए । ‘विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ,’ प्रधानमन्त्रीले भने, ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु।’

अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले अगाडि भने, ‘यसमाभूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ।’

घरजग्गा कारोबारमा सहजीकरण नगरी तरलता समस्यालाई सम्बोधन गर्न नसकिने उनले बताए । उनले भने, ‘अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ ।’

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए ।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए ।

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २०% सम्म छुट पाउने Read Previous

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकले २०% सम्म छुट पाउने

दोल्ती पावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

दोल्ती पावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?