काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ४६० बढी आरोहीहरूले अनुमति लिएका छन् ।पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार५५ आरोही समूहका ४६० बढी आरोहीहरूले अनुमति लिएकाहुन् ।
जसमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै २० आरोही समूहका झन्डै २०० आरोहीहरूले अनुमति लिएका छन् ।पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र १६६ पुरुष गरी कुल १९७ आरोहीले अनुमति लिएका हुन् ।
यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् । हिमाल आरोहणबाट झन्डै रु २८ करोड रोयल्टी जम्मा भएको छ ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबरद्धक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवरद्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।’