काठमाडौं । उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी झन्डै चार गुणाले गुणाले वृद्धि भएको छ । पछिल्लो एक दशक (आव २०७०/७१ देखि चालु आवको माघसम्म)मा वित्तीय संस्थाको उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी २९६.२० प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ सम्म बैंक तथा वित्तीय संस्थाले उत्पादन क्षेत्रमा कुल १ खर्ब ९० अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । चालु आवको माघ मसान्तसम्म आइपुग्दा यस क्षेत्रमा कर्जा लगानी ५ खर्ब ६४ अर्बले बढेर कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो समय उत्पादनमूलक उद्योगको संख्या बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि कर्जा लगानी बढाएका हुन् । साथै, नियामक निकाय नेपाल राष्ट्र बैंकले अनिवार्य रुपमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि वित्तीय संस्थाहरूले लगानी बढाएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्र अन्तर्गत खाद्य वस्तुको उत्पादन तथा प्रशोधन, कृषिजन्य वस्तु, पेय पदार्थ, हस्तकलाका समग्री निर्माण, कपडा उद्योग, टायल, सिमेन्ट उद्योग, औषधि लगायत उद्योगमा कर्जा लगानी गरेका छन् ।
यद्यपि, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी रकम बढे पनि हिस्सा भने घटेको छ । आव २०७०/७१ मा बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा कुल कर्जाको झन्डै २० प्रतिशत कर्जा लगानी गरेका थिए भने हाल १५.६१ प्रतिशतमा सीमित भएको छ । हालसम्म कुल ४८ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका गरेका बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा ७ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका छन् ।
अर्थतन्त्रको मेरुदण्ड मानिने उत्पादन तथा वास्तविक क्षेत्रमा वित्तीय संस्थाहरूले अनिवार्य लगानी गर्नुपर्ने बाध्यकारी प्रावधान तथा उद्योगधन्दाको विकासले यस क्षेत्रमा कर्जा लगानी वृद्धि भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले कृषि, उर्जा, साना तथा मझौला उद्यम व्यवसायमा अनिवार्य लगानी गर्नु पर्ने नीति बनाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूले २०८२ असारसम्म कृषिमा १५ प्रतिशत, लघु, घरेलु, साना एवम् मझौला उद्योगमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । जसकारण बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा विविधता रहेको पाइन्छ ।
संस्थाहरूले लगानी गरेको कुल कर्जा मध्ये सबैभन्दा धेरै उपभोग र खर्चमै गएको तथ्यांकले देखाउँछ । यद्यपि, उत्पादनका विभिन्न क्षेत्रहरूमा पनि लगानीको सकारात्मक संकेत देखिएको छ ।
पछिल्लो एक दशकमा सबैभन्दा धेरै सुर्तिजन्य उद्योग, सिमेन्ट उद्योग, रक्सी, कागज, ढुंगा तथा सिसाका उद्योगमा बैंकक तथा वित्तीय संस्थाहरूले लगानी गरेका छन् ।
कुन क्षेत्रमा कति लगानी ?
उत्पादनमूलक क्षेत्रमध्ये बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा धेरै ऋण लगानी सिमेन्ट तथा डण्डी उद्योगमा गरेका छन् । पछिल्ला वर्षहरूमा नेपालमै ठूला डण्डी र उद्योग खुल्ने क्रम बढेसँगै बैंकहरूको यस क्षेत्रमा कर्जा लगानी ह्वात्तै बढेको हो ।
हाल सिमेन्ट र डण्डी उद्योगमा मात्रै बैंकहरूले साढे २ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । आव २०७०/७१ सम्ममा बैंक तथा वित्तीय संस्थाले डण्डी र सिमेन्ट उद्योगमा कुल ५४ अर्ब ३६ करोड लगानी गरेकोमा यस अवधिमा झन्डै ५ गुणाले बढेर अहिले २ खर्ब ५८ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार खाद्य वस्तुको उत्पादन र प्रशोेधनमा बैंक तथा वित्तीय संस्थाको लागनी १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । एक दशकमा यस क्षेत्रका कर्जा प्रवाह तीन गुणाले वृद्ध गरेको राष्ट्र्र बैंकको तथ्याकले देखाउँछ ।
कृषिजन्य वस्तुहरूको उत्पादनमा ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । आव २०७०/७१ मा यस क्षेत्रमा १० अर्ब रुपैयाँ लगानी रहेकोमा तीन गुणाले वृद्धि भएको हो । अल्कोहल, बियर र सोडा लगायत पेयपदार्थमा बैंक तथा वित्तीय संस्थाको लगानी तीन गुणाले वृद्धि भएर ३३ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, हस्तकलाका सागग्री निर्माणमा १३ अर्ब रुपैयााँ कर्जा प्रवाह भएको तथ्यांकले देखाउँछ । एक दशक अघि बैंकहरूले यस क्षेत्रमा ५ अर्ब रुपैयाँ लगानी गरेका थिए । कपडा उत्पादन तथा तयारी कपडा बनाउने गार्मेन्टमा २९ अर्ब, फर्निचरमा ३२ अर्ब, कागजमा पाँच गुणाले लगानी बढेर १५ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी, छापा खानामा १३ अर्ब, औषधि उत्पादनमा चार गुणाले बढेर २७ अर्ब, तेल प्रशोधनमा ५ अर्ब, तारपिनमा १ अर्ब, रबर तथा टायरमा ४२ करोड रुपैयाँ लगानी रहेकोमा एक दशकपछि २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार लेदरमा २ अर्ब, प्लाष्टिकमा ३५ अर्ब, सिमेन्टमा पाँच गुणा बढीले लगानी बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।