ठमेलमा पर्यटक छन्, व्यापार छैन

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन ।

नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ ।

ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् । ‘कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ,’ उनी भन्छन्

कोरोना महामारी अघि लागेजुले दैनिक रु ५० हजारदेखि रु ६० हजारको व्यापार गर्थे । अहिले दैनिक रु ८ हजारदेखि रु १० हजारसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । बाइस वषर्को आफ्नो व्यापारको अनुभव सुनाउँदै लागेजुले भने, ‘अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।’

यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार/व्यवसाय घटेको बताउँछन् । ‘ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनी बताउँछन् । ‘कहिलेकाँही त बिक्री नै हुँदैन,’  रेग्मी भन्छन् ।

खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनीको भनाइ छ । रेग्मी सामान किन्ने र खर्च गर्ने पर्यटक नआएका कारण व्यापार व्यवसाय धरापमा परेको सुनाउँछन् । ठमेलमा विगत १४ वर्षदेखि ह्याण्डिक्राप्टको व्यापार/व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार १दमै घटेको बताउँछिन् । ‘पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्,’ बाँस्तोला भन्छिन् ।

उनले उलन, पश्मिना, फेल्टलगायतका सामान बिक्री वितरण गर्दै आएको छ । ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछिन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौँ इको होटल सञ्चालन गर्दै आएका विमल (सहदेव) धमला पछिल्लो समय ठमेलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् ।

‘मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रुपमा राम्रो हो,’ उनी भन्छन् ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन् । ठमेलमा १/२ रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रीत रहेको उनीले सुनाए । ठमेलमा सञ्चालित ४ तारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन् । अहिले पर्यटकीय समय भएको कारण पनि  होटलमा पर्यटकको सङ्ख्या बढेको उनी बताउँछन् ।

नेपालमा पर्यटक आवागमनको सङ्ख्या बढेसँगै हवाई क्षेत्रमा पनि उत्साह थपिएको छ । पछिल्लो समय हवाई मार्ग हुँदै सगरमाथा आधारक्षेत्र सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्लालगायत क्षेत्रमा जाने पर्यटक बढेका छन् । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौला बताउँछन् । ‘तारा एयरलाइन्स र यती एयरलाइन्सको माउण्टेन फ्लाइटमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ,’  उनी भन्छन् ।

पछिल्लो समय तारा एयरलाइन्सले विभिन्न गन्तव्यस्थलमा दैनिक ५० वटासम्म उडान भर्ने गरेको छ । सो एयरलाइन्सले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लासम्म दैनिक आउने जाने ३२ उडानसम्म गरेको छ । यस्तै, सोही एयरलाइन्सले पोखराबाट मुस्ताङसम्म १० उडान र नेपालगञ्जबाट हिमाली क्षेत्रमा छ उडान गर्ने गरेको छ ।

अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिने गरिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार ४२६ पर्यटक भित्रिएका छन् । मार्च महिनामा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली मुलुकबाट १५ हजार ६४३, युरोपबाट २३ हजार २६५ तथा अन्य राष्ट्रबाट ३ हजार ९५८ पर्यटक नेपाल आएका छन् ।

यस्तै, क्यानडाबाट १ हजार ७०७, अमेरिकाबाट ९ हजार ५५७ का साथै मध्यपूर्वलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएको पर्यटन बोर्डका निर्देशक एवं सूचना अधिकारी मणिराज लामिछाने बताउँछन् । उनका अनुसार मार्च महिनामा मात्र भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३  पर्यटक आएका थिए ।

अमेरिकाबाट गत वर्षको सोही अवधिमा ४ हजार ८९६ पर्यटक आएकामा यसपटक ९ हजार ५५७ पर्यटक आएका छन् । मार्चमा भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलङ्काबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।रासस

गभर्नर अधिकारीका ३ वर्ष : अस्थिर र अदूरदर्शी नीति, अर्थमन्त्रीपिच्छे फरक व्यवहार Read Previous

गभर्नर अधिकारीका ३ वर्ष : अस्थिर र अदूरदर्शी नीति, अर्थमन्त्रीपिच्छे फरक व्यवहार

वैशाख ४ देखि आइपीओ विक्री गर्दै मेन्छियाम हाइड्रोपावर Read Next

वैशाख ४ देखि आइपीओ विक्री गर्दै मेन्छियाम हाइड्रोपावर