नेपालद्वारा एलडीसीज समन्वय ब्यूरोको अध्यक्षता ग्रहण

काठमाडौं । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडीसी)को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो ।

हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले गरेको नियोगले जनाएको छ । सो अवसरमा राजदूत राईले महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावले खाद्य, ऊर्जा र अल्पविकसित राष्ट्रहरूमा देखिएको आर्थिक सङ्कटका कारण उत्पन्न भएको बहुसङ्कटका बीचमा समूहको सफलतापूर्वक नेतृत्व गरेकोमा मलावीको प्रशंसा गरे ।

उनले एलडीसी सदस्यहरू, संयुक्त राष्ट्रसङ्घीय प्रणाली र विकास साझेदारहरूसँग एकताको भावनामा काम गर्ने नेपालको प्रतिबद्धतालाई एलडीसीजको सामूहिक हितको रक्षा र प्रवर्द्धन गर्ने उल्लेख गरेको नियोगले आज विज्ञप्तिमार्फत जनाएको छ ।

एलडीसी अध्यक्षका हैसियतमा राजदूत राईले दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आफूहरूको उच्च प्राथमिकतामा रहने बताए । साथै उनले संयुक्त राष्ट्रसङ्घका सबै सान्दर्भिक प्रक्रिया र नतिजामा दोहा कार्ययोजनाको मूलप्रवाहीकरणको महत्त्वलाई पनि जोड दिए।

राजदूत राईले गरिबी न्यूनीकरण र दिगो विकास, एलडिसीबाट स्तरोन्नति हुने देशका लागि अन्तर्राष्ट्रिय सहयोगका उपाय प्राप्त गर्न, जलवायु परिवर्तन र प्रकोपसँग लचिलोपन निर्माण गर्न, जलवायु वित्तपोषण, व्यापार र लगानीका अवसर अभिवृद्धि गर्न र लैङ्गिक तथा सामाजिक असमानतालाई सम्बोधन गर्न नेपालको प्रतिबद्धता व्यक्त रे ।

उनले आधिकारिक विकास सहायता, ऋण राहत र प्रविधि हस्तान्तरणलगायत बलियो अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न एलडिसी समूहको एकता र ऐक्यबद्धतामा जोड दिए ।

 

नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

अरुण तेस्रोको छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो Read Next

अरुण तेस्रोको छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो