अर्थतन्त्रको दिशा : संकटन्मुख कि सुधारोन्मुख ?

काठमाडौं । नेपाली अर्थतन्त्र बारे सधैं वास्तविक अवस्थाभन्दा भिन्न खालको हल्ला चल्ने गरेको छ । गत वर्ष अर्थतन्त्रका बाह्य सूचक दबाबमा पर्दा नेपाल पनि श्रीलंका जस्तै बन्न लाग्यो भन्ने हल्लाले बजार पिटेको थियो ।

अहिले अर्थतन्त्रका बाह्य सूचकहरू सुधारोन्मुख हुँदै गएको छ भने आन्तरिक सूचकहरू दबाबमै छन् । तर, बजारमा अर्थतन्त्र ध्वस्तै भइसक्यो, मन्दीमा गइसक्यो, व्यापार व्यवसाय ठप्पै भयो जस्ता हल्ला चलिरहेका छन् ।

यद्यपि, आयातमा प्रतिबन्ध लगाउँदाको राजस्व संकलनमा ठूलो गिरावट, बजारमा वस्तुको मागमा गिरावट, ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास भने आएको छ । अर्थतन्त्रको आन्तरिक सूचकहरू संकटोन्मुख रहे पनि बजारमा चलेको हल्ला जस्तै भने नरहेको राष्ट्र बैंकको तथ्यांकहरूले देखाएको छ ।

पछिल्लो समय अर्थतन्त्रका बाह्य सूचकहरू जस्तै विदेशी मुद्रा संचिति, शोधान्तर स्थिति, चालु खाता, व्यापार घाटा लगायत सूचकमा निकै सुधार भएको अवस्था ।

कोभिडपछि अर्थतन्त्र पुनरुत्थानको क्रममा भएको अनियन्त्रित कर्जा प्रवाह र आयात वद्धिले खल्बल्याएका सूचकहरू ट्रयाकमा ल्याउन सरकार र राष्ट्र बैंकलाई झन्डै १ वर्ष लागेको थियो । त्यस्तै, अहिले आन्तरिक सूचकहरू सुधार गर्न पनि केही समय लाग्ने तर, ट्रयाकमै ल्याउनै नसक्ने बिग्रिएको भने होइन ।

अर्थतन्त्रको पछिल्लो दुई वर्षको अवस्था हेर्दा सुरुमा पुनरुत्थानको लागि सहजबाट संकटतिर गएको देखिन्छ भने अब संकटउन्मुख मोडबाट सन्तुलित अवस्थामा रहने आर्थिक क्षेत्रका जानकारहरूको विश्लेषण छ ।

यद्यपि, आन्तरिक अर्थतन्त्रको गति भने सिथिल अवस्थामा छ । अर्थतन्त्र लिड गर्ने जिम्मेवारी पाएका राष्ट्र बैंक र सरकारले बाह्य क्षेत्रको चाप कम गर्न गरेका नीतिगत कडाइहरूको असर अहिले आन्तरिक सूचकमा देखिएको हो । आयातमुखी अर्थसंरचना भएकाले वस्तुको खपत घटाउँदा राजस्वमा गिरावट आउने र आयात वृद्धि हुँदा विदेशी विनिमय संचिति, भुक्तानी सन्तुलनमा दबाब पर्ने गरेको छ ।

‘नीतिगत समस्या हल गरी चुनौतीलाई अवसरमा बदल्नुपर्छ’

नेपाली अर्थतन्त्रको नेचर नै उच्च आर्थिक वृद्धिको हासिल गर्न खोज्दा बाह्य क्षेत्रमा समस्या देखिने र बाह्य क्षेत्र टाल्न खोज्दा आन्तरिक चक्र ठप्पप्रायः हुने खालको छ । नीतिगत रूपमा रहेका समस्या समाधान गर्ने हो भने मात्रै पनि अर्थतन्त्रका आधा समस्या समाधान हुने जानकारहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिव अधिकारी अर्थतन्त्रका तमाम नीतिगत समस्याहरू रहेका र त्यस्ता चुनौतीलाई अवसरको रूपमा बद्ल्न सक्नुपर्ने बताउँछन् ।

‘अहिले हाम्रो अर्थतन्त्रको मुख्य चुनौती भनेको आर्थिक वृद्धि न्यून छ, बेरोजगारी बढ्दो छ भने बराइसँराइ पनि सोही रफ्तारमा बढेको छ । देशभित्र वस्तु तथा सेवा आयात गर्न रेमिट्यान्सको भर पर्नु परिरहेको छ । पूँजीगत खर्चको नहुनु, व्यापार असन्तुलन, उपभोक्ताको खर्च गर्ने क्षमतामा आएको ह्रास, बढ्दो आर्थिक असमानता हुन्,’ उनले भने, ‘यसका बाबजूद विभिन्न क्षेत्रमा लगानी र नीतिगत सुधार गर्न सकिन्छ । जुन हाम्रो लागि सुधारको अवसर हो । कृषि क्षेत्रमा लगानी बढ्दो छ । तर, विस्तारै भइरहेको छ । विद्युतको माग र खपत बढीरहेको छ । हामीले अर्थतन्त्रमा सुधार गर्नको लागि नीतिगत पुनर्विचार गर्नुपर्छ । ’

मौद्रिक नीति र वित्त नीतिलाई अर्थतन्त्रको समस्या समाधान गर्नतिर लैजानुपर्ने उनले बताए ।पछिल्लो दुई वर्षयता यही संरचनाको सन्तुलन कायम गर्नमै नीति र सूचकहरू घुमिरहेका छन् । पछिल्लो समय अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग छलफल गरिरहेका छन् ।

घाटामा गएको सरकारको सार्वजनिक वित्त, चालु पूँजी खर्चको विषय र निजी क्षेत्रका माग सम्बोधन गर्ने चुनौती अहिले पनि कायम छ । अर्थसचिव तोयम राय सरकारको राजस्व संकलनमा पनि सुधार हुँदै गएको बताउँछन् ।

‘सरकारले चालु वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिए पनि बाह्य क्षेत्रमा देखिएको दबाबले सो लक्ष्य हासिल गर्न नसकिने भएपछि अर्धवार्षिक समीक्षा मार्फत सच्चाएको छ,’ उनले भने, ‘राजस्व संकलनमा सुधार हुँदै गएको छ भने विदेशी पर्यटक आवागमन र रेमिट्यान्स आप्रवाहमा सुधार भएको छ, कृषि उत्पादन,र हाइड्रोपावरको उत्पादनमा भएको वृद्धिले आन्तरिक क्षेत्रमा देखिएको चाप पनि सुधार हुँदै जाने अपेक्षा छ ।’

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

चालु आवको दोस्रो त्रैमासदेखि अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकमा सुधार आएको छ । रेमिट्यान्स, पर्यटक आवागमन, आयात प्रतिबन्धको सकारात्मक प्रभाव भुक्तानी सन्तुलन, विनिमय संचितिमा देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको माघ मसान्तसम्म १३ खर्ब ८३ अर्ब रुपैैयाँ कुल विदेशी विननिमय संचिति रहेको छ । प्रणालीमा रहेको सो रकमले १०.८ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवा धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

शोधनान्तर स्थिति र चालु खातामा पनि सुधार देखिएको छ । गत वर्षको माघ मसान्तसम्म चालु खाता ४११ अर्ब ३४ करोडले घाटामा रहेकोमा यस वर्षको सोही अवधिमा २९ अर्ब ६४ करोडले घाटामा छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १३३ अर्ब २१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । गत वर्षदेखि रुस युक्रेन युद्धले लगातार उकालो लागेको मुद्रास्फीती पछिल्लो समय सुधार हुँदै गएको छ । राष्ट्र बैंकले ७ प्रतिशत भित्र मूल्यवृद्धि राख्ने लक्ष्य लिए पनि केही समय अघिसम्म साढे ८ प्र्रतिशत पुगेको थियो । अहिले यस्तो सूचक ७.८८ प्र्रतिशतमा रहेको छ । यस अवधिमा नेपालको आयात निर्यातमा समेत गिरावट आएको छ ।

बजारमा देखिएको माग संकूचनले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाउन सकेका छैनन् । जसको कारण यस वर्ष सरकारले लिएको आर्थिक वृद्धको लक्ष्य हासिल गर्न मुस्किल हुने देखिएको छ ।

८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिए पनि त्यसअनुसार उत्पादन वृद्धि र आर्थिक गतिविधि चलायमान नहुँदा ४ देखि ५ प्रतिशतको हाराहीमा सीमित रहने अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, राष्ट्रिय योजना आयोग जस्ता संस्थाहरूले प्रक्षेपण गर्न थालेका छन् ।

सहज हुँदै तरलता, सस्तिँदै ब्याजदर

सरकार र राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न खोजेपछि सबैभन्दा धेरै कसिएको वित्तीय क्षेत्रमा अहिले सुधारको संकेत देखिएको छ । राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न गत वर्षदेखि ब्याजदर वृद्धिको नीति लिएको थियो ।

जसको कारण कर्जाको ब्याजदर पछिल्लो एक दशक यताकै उच्च विन्दुमा पुगेको थियो । एक वर्ष लगातार उकालो लागेको ब्याजदर अब भने घट्ने क्रममा छ । वित्तीय प्रणालीमा पूँजी सहजता भएसँगै ब्याजदर पनि घट्ने ठाउँ रहेको बैंकरहरू बताउँछन् ।

चालु वर्षको दोस्रो त्रैमाससम्म ११ प्रतिशत माथि रहेको बैंकको आधारदर अब वैशाखपछि घट्ने भएको छ । संस्थाहरूले निक्षेपको ब्याजदर घटाएसँगै लागत घट्दा त्यसको असर वैशाखपछि कर्जाको ब्याजदरमा देखिन्छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरूको हाल औसतमा सीडी रेसियो ८५.५५ प्रतिशत छ । जसले संस्थाहरूसँग करिब २ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ भन्ने देखाउँछ । यसअघि महंगो ब्याजका कारण उद्योगी व्यवसायीहरूले कर्जाको माग गरिहरका छैनन् ।

बजारमा माग नहुँदा उद्योग व्यवसायदेखि बैंक तथा वित्तीय संस्थाको लगानी समेत वृद्धि हुन सकेको छैन । जसको कारण अन्ततः आर्थिक सूचकहरूमा धकका पुगेको छ । आन्तरिक अर्थतन्त्रकै मुख्य समस्या मानिएको ब्याजदर सस्तिने ठाउँ रहेकाले अन्य क्षेत्रमा समेत क्रमशः सुधारको संकेत देखिने आर्थिक क्षेत्रका जानकारहरू बताउँँछन् ।

 

नेप्सेमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै Read Next

टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै