सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् ।

पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । सोही छलफलको जगमा अवको राज्य समाजवाद उन्मुख हुनेछ भनिएको हो । समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ।’

संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको उल्लेख गर्दै उनले सार्वजनिक निजी, साझेदारी र सहकारीलाईसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । निकै ठूलो सङ्घर्ष र बलिदानको जगबाट प्राप्त भएको सो उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भने, ‘‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ । संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ ।’

‘‘संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहस छन् । कतिपय शक्ति परिवर्तनका मुद्दा उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन,’ प्रधानमन्त्री दाहालले भने, ‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ ।’

सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुननसक्ने भएकाले कृषिमा आधारित उत्पादन सहकारीको निर्माण, परिचालन, बजारीकरण आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो । यसलाई ठीक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ । उद्योगको हकमा पनि कृषिमा आधारितबाहेक अरु उद्योग दीर्घकालीन समाधान होइन । कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने।

तालिमपछि आत्मनिर्भर बन्दै महिला, साबुन उत्पादन सक्रिय Read Previous

तालिमपछि आत्मनिर्भर बन्दै महिला, साबुन उत्पादन सक्रिय

पक्राउ परेका पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग Read Next

पक्राउ परेका पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग