उपत्यका आउने सबै मुख्य सडक अस्तव्यस्त, अझै कम्तीमा २ वर्ष सास्ती भोग्नुपर्ने

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने सबै मुख्य सडक अस्तव्यस्त बनेका छन् । हाल सबै सडक विस्तार तथा स्तोरन्नतिका क्रममा रहेकाले अस्तव्यस्त बनेका हुन् ।

हाल काठमाडौं उपत्यका प्रवेश मुख्य सडकहरू मुग्लिन नागढुंगा, धुलिखेल–काठमाडौं, हेटौंडा–दक्षिणकाली–बल्खु सडक विस्तारका क्रममा रहेका छन् । त्यस्तै, सहायक सडकहरू नौबिसे सितापाइला, कुलेखानी–चित्लाङ, बालाजु–त्रिशूली, छहरे–टोखा, मेलम्ची–साँखु सडक पनि स्तरोन्नतिका क्रममा रहेका छन् ।

यी सबै सडकमा अहिले खाल्डाखुल्डी, भित्तो कटानका गर्दा निस्केको माटोका कारण कालोपत्र पुरिएको अवस्था रहेको छ । जसकारण यात्रुले घाम लाग्दा धूलो र पानी पर्दा हिलो सडकमा सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । साथै, कतिपय ठाउँमा सकड बन्द गरेर विस्तारको काम भइरहेकाले यात्रु घण्टौं रोकिनुपर्ने अवस्था छ ।

काठमाडौं आउने मुख्य सडकहरू अस्तव्यस्त र जीर्ण बनेकाले यात्रुले भने अझै कम्तीमा २ वर्ष हैरानी र सास्ती भोग्नु पर्ने अवस्था छ । विस्तारका क्रममा रहेका यी सबै सडक ठेक्का सम्झौता अनुसार काम पूरा हुन अझै २ देखि ३ वर्ष लाग्छ । यी आयोजना पनि तोकिएकै समयमा काम पूरा नहुने रोगबाट ग्रसित बनेका अझ झन् धेरै वर्ष हैरानी भोग्नुपर्नेछ ।

सडक विभागका प्रवक्ता रामहरी पोखरेलले केन्द्र सरकारको लगानी रहेका पृथ्वी राजमार्ग र अरनिको राजमार्ग विस्तारको काम सुरू भइसकेको बताए । उनले ती सडक विस्तारको काम सम्पन्न हुन २ देखि ३ वर्ष लाग्ने बताए ।

‘नागढुंगा–मुग्लिन र भक्तपुर–धुलिखेल सडक विस्तारको काम हालै सुरू भएको छ, अबको २ देखि ३ वर्षमा त्यो सडकहरू बन्ने छन्,’ पोखरेलले चाणक्य पोष्टसँग भने, ‘सडक निर्माण सम्पन्न नहुँदासम्म यस्तै अवस्था रहन्छ ।’

यस्तै, प्रदेश सरकार अन्तर्गतका कुलेखानी–हेटौंडा, मेलम्ची–जरसिंहपौवा, कुलेखानी–चित्लाङ–थानकोट सडक पनि स्तिारको क्रममा रहेको बताए । यी सडक सम्पन्न हुन पनि कम्तीमा २ वर्ष लाग्ने उनले बताए ।

नागढुंगा–मुग्लिन सडकका तीनै खण्डमा धमाधम काम सुरू

९६ किलोमिटर लम्बाइ रहेको नागढुंगा–मुग्लिन सडक ३ खण्डमा ठेक्का लगाइ विस्तारको काम धमाधम भइरहेको छ । नागढुंगा–नौबिसे १२.६२ किलोमिटर, नौबिसे–मलेखु ४३.५२ किलोमिटर र मलेखु–मुग्लिन ४० किलोमिटरमा विभाजन गरी विस्तारको काम भइरहेको हो ।

आयोजनाका इन्जिनीयर दीपक महर्जनले अहिले यस सडकमा भित्तो कटान, वाल लगाउने लगायत काम भइरहेको बताए । उनले ५/५ किलोमिटरमा काम गर्दै पछि कालोपत्र गर्ने गरी काम भइरहेको उनले बताए ।

उनका अनुसार पहिलो खण्ड नागढुंगा–नौबिसे सडक खण्डमा भित्तो कटान र वाल लगाउने काम भइरहेको छ । सो खण्डमा हालको सडकमा सवारी आवगमन नरोकिने गरी छेर र भित्तोमा काम भइरहेको छ । यसखण्डको भौतिक प्रगति १२ प्रतिशतभन्दा धेरै भइरहेको छ। १२।६२ किमी रहेको यस सडकखण्ड विस्तारको ठेक्का एमरएस जियाङसु–सगुन जेभीले पाएको छ । सगुन जेभीले १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

त्यसैगरी, दोस्रोखण्ड अन्तर्गत नौबिसे–मलेखु ४३.५४ सडकमा पनि काम भइरहेको छ । यस सडकको पनि भित्तो कटान, रिटेनिङ वाल लगाउने लगायत काम भइरहेको छ । यस खण्डको ठेक्का शर्मा–लामा–जेडआइसीजी जेभीले पाएको छ । यो खण्ड ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा लागतमा ठेक्का लगाइएको हो ।

त्यसैगरी, तेस्रो खण्ड (मलेखु–मुग्लिन) ४० किलोमिटर सडक विस्तारको ठेक्का शर्मा–जेडआईसीजी जोइन्ट भेन्चर पाएको छ । जेभीले यस खण्डको ठेक्का ४ अर्ब ८० करोड रुपैयाँमा पाएको हो । यस खण्डमा पनि सुरूआति चरणका कामहरू भौतिक संरचना हटाउने, पोल सार्ने लगायत काम भइरहेका छन् ।

विभागले गरेको डिजाइन अनुसार नागढुंगा–मुग्लिन खण्डमा २१ वटा ४ लेनका पुल निर्माण हुनेछ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाइ अनुसार नै छेउमा पुल निर्माण गरिने छ । नागढुंगा–नौबिसे खण्ड ३ लेनको हुनेछ । बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुने छ । सडक विस्तारका क्रममा सर्भिस लेन निर्माण गरिने छ ।

सूर्यविनायक धुलिखेलको साँगाबाट काम सुरू

१५.५ किलोमिटर लामो यस सडकखण्डलाई दुई भागमा विभाजन काम सुरू गरिएको छ । भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै ठेक्का लगाइएको छ ।

यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार फागुनदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्य सुरू गरिएको हो ।

उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको र विस्तार गरिने पहिलो खण्ड साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ , यस सडकखण्ड विस्तारका लागि रु ४ अर्ब ५ करोड ६४ लाखमा ठेक्का लगाइएको हो । यस खण्डमा सोमबारदेखि वाल लगाउने काम सुरू भएको छ ।

यस्तै, सडक विस्तारका लागि राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत सङ्कलन सुरू थालिएको हो । प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब १ अर्ब मुआब्जा दिनुपर्ने जनाइएको छ ।

दोस्रो खण्ड अन्तर्गत सूर्यविनायक–साँगा ७.५ किमी लामो सडक विस्तारको ठेक्का आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले पाएको छ । कम्पनीले उक्त सडक विस्तारको ठेक्का ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा पाएको हो ।

सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)मा केही परिवर्तन हुँदा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु १ अर्ब लाग्ने आयोजनाले अनुमान गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएकोे छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको थियो ।

उक्त डीपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको अध्ययनमा जनाइएको छ ।

यस्तै, वाग्मती प्रदेश सरकारको योजना अन्तर्गत मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड दैनिक १२ घण्टा सवारी आवगमन बन्द गरेर विस्तारको कामलाई तीव्रता दिइएको छ । यस सडकखण्डमा पनि भित्तो कटान, मोड चौडाइ गर्ने, वाल लगाउने लगायत काम भइरहेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

धमाधम ४ लेनको बन्दै नारायणगढ-बुटवल सडक, गैंडाकोट खण्डमा कालोपत्र सुरू Read Next

धमाधम ४ लेनको बन्दै नारायणगढ-बुटवल सडक, गैंडाकोट खण्डमा कालोपत्र सुरू