काठमाडौं । मुलुकको अर्थतन्त्र शिथिल बनेको विषम परिस्थितिमा अर्थमन्त्री बनेका डा. प्रकाशशरण महत पदभार सम्हालेदेखि लगातार सरोकारवालासँग छलफलमा जुटेका छन् । उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थालेका हुन् ।
मन्त्री भएको ४ दिनमै अर्थमन्त्रीले झन्डै एकदर्जन बढी सरोकारवालासँग छलफल गरी सुझाव लिएका छन् । उनले निजी क्षेत्रका संगठनदेखि नियामक निकायका पदाधिकारीसँग समसामयिक विषयमा छलफल गरिरहेका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गरेका महतले सोमबार नेपाल बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरे ।
उनले हरेकसँगको छलफलमा देशको वर्तमान आर्थिक अवस्था, बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धि लगायतका विषयमा भएका समस्या र समाधानका सुझाव बारे चासो राखेका छन् ।
विभिन्न निकायसँगको छलफलमा अर्थमन्त्रीले विद्यमान अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
‘तपाईँहरूको मनोबल घट्न दिन्न, निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँबाट पूर्णसहयोग पाउने अपेक्षा गरेको छु,’ आइतबार महासंघका प्रतिनिधिकोसँगको भेटमा अर्थमन्त्रीले भनेका थिए।
सोमबार नेपाल बैंकर्स संघसँगको छलफलका क्रममा पनि उनले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै आगामी दिनमा सम्बादलाई निरन्तरता दिनेसमेत आश्वासन दिए ।
त्यस्तै, पूँजी बजार फोरमसँगको भेटलगत्तै अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशन समेत दिएका छन् ।
छलफलले मात्र सुध्रिएला अर्थतन्त्र ?
अहिले अर्थतन्त्रको बाह्य दबाब कम हुँदै गए पनि आन्तरिक अर्थतन्त्र लथालिंग छ । सरकारले गत वर्ष आयातमा लगाएको प्रतिबन्धका कारण अहिले विदेशी मुद्रा संचिति, शोधान्तरस्थिति, चालु खाता, व्यापार घाटा लगायत सुधारोन्मुख अवस्थामा छ ।
तर, अर्थतन्त्रका आन्तरिक क्षेत्र भने झन् संकटउन्नमुख भइरहेको छ । व्यापारमा आएको गिरावटका कारण राजस्व नउठ्दा सरकारलाई दैनिक खर्च चलाउनै मुस्किल हुन थालेको छ । चालु आवमै सरकारले आम्दानीभन्दा २ खर्ब बढी खर्च गरिसकेको छ ।
त्यस्तै, अर्थतन्त्रमा आएको संकुचनका कारण बजारमा उपभोग्य वस्तुको माग ह्वात्तै घटेको छ । अधिकांश उद्योगहरू उत्पादन क्षमताको करिब एकतिहाई क्षमतामा मात्र संचालनमा रहेका छन् ।
सरकारले पूँजीगत खर्च बढाउन नसक्दा बजारमा तरलता अभाव कायमै छ । व्यापार व्यवसायमा आएको मन्दीका कारण ऋणीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न छाडेका छन् ।
साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका विरुद्ध भइरहेका अराजक गतिविधिका कारण बैंकिङ क्षेत्र नै आतंकित बन्न पुगेको छ । बैंकहरूले एकातिर विगतमा लगानी गरेको ऋण उठाउन सकेका छैनन् भने अर्कोतर्फ व्यवसाय विस्तार गर्न सकेका छैनन् । त्यस्तै, मुद्रास्फिति सरकारको नियन्त्रण बाहिर जाँदा सर्वसाधरणलाई दैनिक जीवनयापन धान्नै मुस्किल हुन थालेको छ ।
अर्थमन्त्री महतले अर्थतन्त्रका समस्या बारे सरोकारवालासँग निरन्तर छलफलमा जुट्नु सकारात्मक भए पनि त्यसले मात्र अहिलेको समस्या हल नहुने जानकारहरू बताउँछन् । छलफलसँगै अर्थतन्त्र सुधार्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ ।
अर्थविद् तथा पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्रीले सरोकारवाला निकाय र अधिकारीसँग छलफल गर्नु सामान्य भए पनि अर्थतन्त्र सुधारका लागि यसअघिका मन्त्रीले गरेको बद्मासि सच्याउने पर्यत्न गर्नुपर्ने बताउँछन् ।
‘हरेक नयाँ अर्थमन्त्री आएपछि सरोकारवाला सबै निकायका मानिसहरूसँग छलफल गरिन्छ नै । यो सामान्य पहिलेदेखिकै अभ्यास हो । अहिले अर्थमन्त्रीले भर्खर टेकओभर गर्नुभएको छ । उहाँले सुधारका कदमहरू चाल्यो भने त्यतातिर जान्छ,’ उनले भने, ‘पहिलो भनेको यसअघिका अर्थमन्त्रीले गरेका बद्मासिलाई सच्याउने पर्यत्न गर्नुपर्छ । त्यो गर्न कत्तिको भ्याउनु हुन्छ ।’
तर, अहिले अर्थतन्त्र खत्तमै भने नभएको उनले बताए । मन्त्रीले तत्कालै कुनै निर्णय नगरेकाले त्यसका संकेतहरू देखिनसकेको उनी बताउँछन् । खनाल भन्छन्, ‘हरेक मन्त्रालय र आफ्नो मन्त्रालय अन्र्तगतका नियामक निकायहरूको कुरा पनि बुझ्नु पर्छ । उहाँले अहिले कुनै निर्णय गर्नु भएको छैन त्यसकारण कस्तो तिर लैजान्छन् भन्ने संकेत देखएको छैन ।’
अर्थमन्त्रीले छलफलका साथै सरकारको खर्च घटाउन, पूँजीगत खर्च बढाउन, निजी क्षेत्रको विश्वाश जित्नेखालका ठोस योजना अघि सानुपर्ने उनले बताए ।
राष्ट्र बैंकबाट सहयोग पाउनेमा आशंक !
अहिलेका धेरै जसो समस्या अर्थमन्त्री एक्लैले मात्र समाधन गर्नसक्ने खालका छैन । विद्यमान समस्या सुल्झाउन अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक दुवै मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ ।
तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई सहजै सहयोग गर्लान् भन्नेमा भने आशंका छ । अधिकारी विगतमा पनि एमाले बाहेका अर्थमन्त्रीप्रति अनुदार रहँदै आएका छन् । एमालेका तर्फबाट नियुक्त भएका गभर्नरले कांग्रेस र माओवादीको सरकारलाई सघाउलान भन्नेमा धेरैलाई विश्वास लागेको छैन ।
विगतमा गभर्नर अधिकारी र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सम्बन्ध पानी बारबारकै अवस्थामा पुगेको थियो । उनले अर्थमन्त्रलाई सहयोग पुग्नेभन्दा पनि असहयोग हुने खालका नीति लाद्दै आएका थिए । एउटा उदाहरण हो चालू पूँजी कर्जा । शर्माले उक्त व्यवस्था संशोधन गर्न सहयोग मागे पनि अधिकारी टसमस भएका थिएनन् । तर, अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउने बित्तिकै उनले संशोधन गरेका थिए ।
अहिले महत्त कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका छन् । स्वायत्त निकाय राष्ट्र बैंक सरकारको सल्लाहाकार र सहयोगी हुने पर्ने भए पनि बेलाबेलामा गभर्नरले राजनीतिक व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको छ । र, केही घटना क्रमले त्यो पृष्टि समेत गरेको छ ।
यद्यपि, महतले गभर्नरसँगको सम्बन्ध सुधारका लागि संवाद तथा छलफल अघि बढाइरहेका छन् । मंगलबार मन्त्रालयमै डाकेर दुवै मिलेर अर्थतन्त्र, ब्याजदर, तरलता लगायतका समस्या समाधान गर्नुपर्ने बताएका थिए ।