काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले तरलता सहज भएसँगै कर्जा लगानी गर्न आकर्षक अफर ल्याउन थालेका छन् । अन्य क्षेत्रमा कर्जाको माग नभएपछि बैंकहरूले घरजग्गा तथा अटो क्षेत्रमा सहुलियत ब्याजमा कर्जा योजना ल्याउन थालेका हुन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा झन्डै २ खर्ब बढी तरलता रहेको बताइन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशत हाराहारीमा छ । राष्ट्र बैंकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने गरी सीमा तोकेको छ । यसले पनि अहिले बैंकिङ प्रणालीमा तरलता सहज रहेको देखाउँछ ।
तर, बैंकमा लगानी योग्य रकम पर्याप्त भए पनि कर्जाको माग नहुँदा पैसा प्रणालीमै थन्किएर बसेको छ । ब्याजदर महँगो भएको भन्दै अहिले उद्योगी, व्यवसायीले कर्जाको माग गरेका छैनन् । यस्तै, बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध भइरहेको आन्दोलन र गतिविधिका कारण बैंकहरू कर्जा लगानी गर्न झस्किएका छन् । जसकारण बैंकमै पैसा थुप्रिएको छ ।
उच्च ब्याजदरका कारण गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि कर्जाको माग बढ्न सकेको छैन । गत वर्षदेखिको प्रणालीमा तरलता अभाव र त्यसको कारण बढेको ब्याजदर वृद्धिले बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय नै खुम्चिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्र तर्फ १२.६ प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएको थियो । तर, चालु आवको ८ महिना बित्दा लक्ष्यको करिब २० प्रतिशत अर्थात् सवा १ खर्ब मात्र कर्जा लगानी गर्न सकेका छन् ।
लामो समयदेखि व्यवसाय विस्तार गर्न नसकेका बैंकहरू अब भने कर्जाको ब्यादर घटाएरै ऋण लगानी गर्ने मनस्थितिमा पुगेका छन् । महँगो ब्याजमा उठाएको निक्षेप थुप्रिन थालेपछि बैंकहरूले ब्याजदर घटाएर कर्जा योजनाहरू ल्याउन थालेका छन् । बैंकहरूले अहिले सहुलियत ब्याजदरमा घरकर्जा, अटोकर्जा, व्यवसायिक कर्जा लगायतका स्कीमहरू ल्याएका छन् ।
पछिल्लो एक वर्षमा लगातार उकालो लागेको निक्षेपको ब्याजदर यस त्रैमासदेखि घट्न थालेको छ । त्यसको प्रभाव कर्जाको ब्याजदरमा वैशाखपछि मात्र देखिन्छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको माग बढ्न नसकेपछि चैतमा प्रिमियम १ प्रतिशतले घटाउने निर्णय गरेका थिए ।
कुन बैंकको कस्ता छन् कर्जा योजना ?
अहिले अन्य क्षेत्रमा कर्जाको माग नभएपछि बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा र अटो क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा योजना ल्याउन थालेका छन् । बैंकहरूले घर किन्न तथा बनाउन र विद्युतीय गाडी खरिदका लागि सहजै ऋण दिने स्कीमहरू ल्याएका हुन् ।
एनएमबी बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा सहित १२.४९ प्रतिशतमा अटो लोनको अफर ल्याएको छ । ऋणीले स्थिर ब्याजदरमा ५ वर्ष अवधिसम्म यो कर्जा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, एनएमबीले ११.९९ प्रतिशत ब्याजदरमा १५ वर्ष अवधिसम्मको लागि होमलोन योजना ल्याएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले ११.२९ प्रतिशत ब्याजदरमा स्पेसल होमलोन अफर ल्याएको छ । त्यस्तै, नेपाल बैंकले सुलभ आवास कर्जा अफर ल्याएको छ । यो कर्जाको आधारदरमा ५ प्रतिशतसम्म ब्याजदर थप गरेर ग्रहाकले ऋण लिनसक्ने बैंकले जनाएको छ ।
यस्तै, महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा आवास कर्जा योजना ल्याएको छ । यस बैंकले सो योजना अन्तर्गत घर किन्न १२.९९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने जनाएको छ ।
बैंकका अनुसार यस योजना अन्तर्गत ऋणीले निर्माण लागतको शतप्रतिशत कर्जा प्राप्त गर्न सक्ने, कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जाको व्यवस्था समेत रहेको उल्लेख छ । नबिल बैंकले हायर पर्चेज कर्जा र घर कर्जाको ब्याजदर १४.४९ प्रतिशत तोकेको छ ।
यसैगरी, एभरेष्ट बैंकले अशोक लेल्यान्डका सवारीसाधन किन्न एभरेष्ट अधिकतम ७ वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ भने टाटाका विद्युतीय गाडी किन्न १२.८ प्रतिशत ब्याजदरमै ८० प्रतिशतसम्म ऋण योजना ल्याएको छ ।
यस्तै, नबिल बैंकले बीवाइडी र हुन्डाईका विद्युतीय गाडी खरिदका लागि १२.९९ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । बैंकले ७ वर्ष अवधिका लागि यस्तो ऋण दिने भएको हो ।
यसैगरी, ग्लोबल आइएमई, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य, कुमारी लगायतका बैंकहरूले विभिन्न ब्याजदरमा घरकर्जा दिइरहेका छन् ।