काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नयाँ अर्थमन्त्रीमा डा. प्रकाशशरण महत आएपछिको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको हो ।
लगानीकर्तामा नयाँ अर्थमन्त्री रुपमा आएका महतले सेयर बजारको सुधारका लागि काम गर्ने विश्वास नदेखिँदा नेप्सेले नकारात्मक प्रतिक्रिया देखाएको हो ।
सेयर बजार पछिल्लो डेढ वर्ष यता लगातार घट्दो क्रममा रहेको छ । राष्ट्र बैंकको नीतिगत कडाइ र ब्याजदर वृद्धिले थिचिएको सेयर बजारले अझै लय समात्ने नदेख्दा लगानीकर्ताको मनोबल बढ्न सकेको देखिँदैन ।
आइतबार सेयर बजार मापक सूचक नेप्से २०. अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको १ अर्ब २० करोड रुपैयाँ बढीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २.५८ प्रतिशतले घटेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ४ करोड र रिडी पावर पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज स्वाभिमान लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.६१ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रभु बैंकको डिबेन्चर ९.६०, कालिका लघुवित्त ७.४९, विजय लघुवित्त र माया खोला हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।