काठमाडौं । सन् २०२३ को मार्चमा नेपालमा कोभिडकाल यताकै धेरै विदेशी पर्यटक आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२३ मा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो सन् २०१९ डिसेम्बर यताकै धरै हो ।
पछिल्लो समय विश्वभर कोरोना प्रभाव कम हुँदै गएसँगै नेपाल भित्रिने पर्यटकको संख्या पनि क्रमशः बढ्न थालेको हो ।
सन् २०२३ को पहिलो तीन महिना (जनवरी मार्च)सम्ममा नेपालमा कुल २ लाख २७ हजार ७५५ जना पर्यटक भित्रिएका छन् । जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
सबैभन्दा धेरै भारतीय
मार्चमा नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । यस महिना कुल पर्यटक मध्ये भारतीयको संख्या एकचौथाई बढी अथात् २६ प्रतिशत रहेको छ ।
बोर्डका अनुसार मार्चमा भारतीय २५ हजार ९११, अमेरिकी ९ हजार ५५७, बेलायती ६ हजार १३३, जर्मनी ४ हजार १४९, श्रीलंका ३ हजार ८९८, थाइल्याण्ड ३ हजार ८२९, फ्रान्स ३ हजार ९, केरिया २ हजार ६३९ र चीनबाट २ हजार ६३५ पर्यटक नेपाल आएका छन् ।