साउदी अरेबीयाले अन्ततः विश्वकै ठूलो आइपीओ हुन सक्ने प्रस्तावलाई अगाडि बढाएको छ । युवराज मोहम्मद बिन सलमानले प्रस्ताव गरेको ३ वर्षपछि र आइपीओ जारी गरेर सेयर बेच्ने प्रस्तावलाई अचानक थन्क्याइएको ३ हप्ता पछि साउदीको पूँजी बजार प्राधिकरणले ‘अरामको’ को सार्वजनिक निष्काशनलाई स्वीकृति दिएको हो । सेयर आगामी डिसेम्बर महिनाबाट कारोबार शुरु हुन सक्ने संभावना रहेको छ ।
प्राधिकरणले जारी गरेको विज्ञप्तीमा स्वीकृति ६ महिनासम्म मान्य हुने र निष्काशन अगावै कम्पनीको ‘प्रोस्पेक्टस’ प्रकाशित गरिने उल्लेख गरिएको छ ।
विश्व तेल बजारको १० प्रतिशत हिस्सा ओगट्ने अरामकोले गत वर्ष १ सय ११ अर्ब अमेरिकी डलर खुन नाफा कमाएको थियो । यो भनेको एप्पल, गुगल, अल्फाबेट, एक्सन मोबिल जस्ता कम्पनीको कूल खुद नाफा भन्दा पनि धेरै हो ।

कम्पनीले २ ट्रिलियन डलरको मूल्याङ्कन गर्ने लक्ष्य राखेको थियो, जुन एप्पलको भन्दा दुईगुणा भन्दा पनि धेरै हो । तर, अहिले भने कम्पनी १.६ देखि १.८ ट्रिलियन डलरको मूल्याङकनको लागि पनि तयार रहेको बताइएको छ ।
यो निष्काशन युवराज सलमानको ‘भिजन २०३०’को लागि महत्वपूर्ण हुने बताइएको छ । सलमान साउदीलाई तेल व्यापारी मुलुकको परिचयबाट माथि र फराकिलो परिचय दिलाउन चाहन्छन् । निष्काशन पश्चात् साउदीको सार्वभौम सम्पति कोष व्यापक रुपमा बढोत्तरी हुनेछ ।
यो डिलमा भूमिका खोज्नका लागि विश्वका ठूला बैंकहरु तीव्र प्रतिस्पर्धामा उत्रेका थिए, जसमध्ये उल्लेख्य भूमिका भने सिटी ग्रुप, गोल्डम्यान स्याक्स र जेपी मोर्गनले हत्याएका छन् ।
तर, यहाँसम्मको प्रक्रिया भने सहज थिएन । युवराजको २ ट्रिलियन डलरको मूल्याङ्कनको प्रस्तावलाई अन्तर्राष्ट्रिय लागानी समुदायहरुले शंकाको नजरले हेरेका थिए ।
कम्पनीमा गरिने लगानीमा केही भू–राजनितीक जोखिम पनि रहेका छन् । अरामकोको कच्चा तेल प्रशोधन केन्द्रमा आक्रमण भएका छन् । तर, कम्पनीले त्यस्ता आक्रमणबाट भएको क्षतीहरुलाई तुरुन्तै व्यवस्थापन गरि काम सूचारु गर्न आफू सक्षम रहेको बताएको छ ।
न्यूयोर्क वा लण्डनमा सूचीकृत गर्ने शुरुवाती प्रस्ताव पनि यसै बिसाएर हाललाई रियादमा मात्र सूचीकृत गर्ने निर्णय गरिएको छ । यो डिल गर्नका लागि अरामकोको बैंकरहरुलाई साउदीको धनी राजपरिवारहरुको राम्रै आर्थिक सहयोगको आवश्यकता पर्नेछ ।
अरामको यो वर्षको अन्त्यसम्ममा सूचीकृत हुन सक्नेछ । यो भनेको विश्वको सबैभन्दा ठूलो कम्पनी अमेरिमामा सूचीकृत नभएको अवस्था हुनेछ ।
यो वर्षको पहिलो ६ महिनाको वित्तीय विवरणमा अरामकोले ४६.९ अर्ब डलर खुद नाफा कमाएको छ । जसमध्ये, ४६.४ अर्ब डलर लाभांशका रुपमा वितरण गरिएको छ ।
निष्काशनलाई थप आर्कषक बनाउन अरामकोले आगामी वर्ष ७५ अर्ब डलर लाभांश वितरण गर्ने घोषणा गरेको छ । १.८ अर्ब ट्रिलियन डलरको मूल्याङनको आधारमा लगानी गरिएको कम्पनीले ७५ अर्ब डलरको लाभांश वितरण गर्दा त्यसको खुद लाभांश (डिभिडेन्ड यिल्ड) ४.४ प्रतिशत हुन आउँछ । कम ब्याजदर भएको अहिलेको विश्वमा यो भनेको धेरै नै हो ।

यो आइपीओमा लगानी गर्ने लगानीकर्ताहरुलाई कम्तीमा सन् २०२४ सम्म लाभांशमा गिरावट नआउने ग्यारेन्टी, तेलको मूल्यमा जति उतारचढाव आए पनि, गरिएको छ । सरकारलाई दिनुपर्ने लाभांश कटौति गरेर भए पनि ७५ अर्ब डलरको लाभांशमा नघटाउने कम्पनीले जनाएको छ ।
कम्पनीमा गरिने लगानीमा केही भू–राजनितीक जोखिम पनि रहेका छन् । अरामकोको कच्चा तेल प्रशोधन केन्द्रमा आक्रमण भएका छन् । तर, कम्पनीले त्यस्ता आक्रमणबाट भएको क्षतीहरुलाई तुरुन्तै व्यवस्थापन गरि काम सूचारु गर्न आफू सक्षम रहेको बताएको छ ।
र, आक्रमणका बावजुद कुनै पनि अर्डर ‘मिस’ नगरेको समेत बताएको छ । तर पनि विगतका घटनाले कम्पनी सैन्य जोखिममा रहेको भने देखाउँछ ।