काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अलपत्र परेको छ । २०७६ फागुनमा पहिलो चरणको सर्वेक्षण सकेर घर फर्केका चिनियाँ प्राविधिक टोली अझै नआउँदा ३ वर्षदेखि अन्वेषणको काम ठप्प भएको हो ।
पछिल्लो समय चिनियाँ टोली आउन तयार भए पनि अन्वेषणका लागि ठूलो मेसिन लैजान सडक नभएपछि झनै ढिलाइ हुने भएको छ । अब सकड विस्तारपछि मात्र चिनियाँ टोली आउने बताइएको छ ।
चिनियाँ टोली काम सक्ने गरी नेपाल आउने योजनामा भए पनि दैलेखसम्म अन्वेषणका लागि ठूला मेसिन लैजान नसक्ने भएकाले सडक विस्तार गर्नुपर्ने भएको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटाले बताए ।
उनका अनुसार सडकका मोडहरू साँघुरा भएका कारण चिनियाँ टोलीले अन्वेषणका लागि ल्याउने मेसिन लैजान नसक्ने भएको हो । उक्त कारण सडक विस्तारका लागि सडक विभाग र अन्य निकायहरूसँग समन्वयनको काम भइरहेको उनले बताए । उनले १८/१९ स्थानमा सडक चौडा गर्नुपर्ने अवस्था छ ।
‘चिनियाँ टोली चाँडै आएर अन्वेषण गर्छु भन्दै छन् तर, हाम्रो राजमार्ग र दैलेखसम्म पुग्ने सडक सानो भएकोले त्यसको विस्तारपछि उनीहरू मेसिन लिएर आउने सहमति भएको छ,’ बास्कोटाले चाणक्य पोष्टसँग भने ‘१८/१९ ठाउँमा घुम्तीहरूमा सडकलाई चौडा बनाउनुपर्नेछ ।’
विभागका खनिज आर्थिक अध्ययन तथा प्रशोधन शाखका सिनियर डिभिजन इन्जिनीयर दिनेशकुमार नापितका अनुसार हाइवेबाट भित्र लोकल सडक समेत बनाउनुपर्नेछ । उनले त्यो खानी विभागको कार्यक्षेत्र नपरेका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागलाई अनुरोध गरिएको छ । स्थानीय तहमा सडको लागि कर्णाली प्रदेश अन्तर्गतको मन्त्रालयमा समेत छिटो काम सक्न अनुरोध गरिएको उनले बताए ।
‘हामीले सबैतिर अनुरोध गरिरहेका छौँ तर, काम चाहिँ भने जस्तो हुन सकेको छैन । चिनियाँ पक्षयहरू काम सकेपछि एक पटक हेर्न आउँछन् अनी तत्काल काम सुरू गर्ने भन्ने छ,’ नापितले चाणक्य पोष्टसँग भने ।
पेट्रोलियम अन्वेषणका लागि विगतमा ४ वर्षको सम्झौता भएको थियो । सो अवधिमा कोभिडका कारण चिनियाँ टोली नेपाल आउन नसक्दा कामले गति लिन सकेको थिएन ।
हाल अन्वेषणका लागि २ वर्ष म्याद थप भएको छ । यही चैत्र १७ गते यसको १ वर्ष समय सकिँदैछ । अब अन्वेषणको काम सकिन १ वर्ष मात्र समय बाँकी रहेको छ । हाल भइरहेको काम हेर्दा अन्वेषणको काम थप अवधिमा समेत नसकिने देखिन्छ ।
चिनियाँ टोलीले ल्याउने अन्वेषण मेसिनको चौडाइ नै साढे १४/१५ मिटरको हुने भएका कारण सडक विस्तार नगरी अन्वेषणको काम सुरू नहुने भएको हो । ‘उनीहरू अन्वेषणका लागि आउन आतुर छन् तर, हामीले ठाउँ उपलब्ध गराउन सकेका छैनौँ, उनीहरूले ल्याउने मेसिन साढे १४/१५ मिटर चौडा भएको हुन्छ, मोडहरू नपुगेको हुँदा त्यसलाई बढाउन अनुरोध गरेका हौँ,’ नापितले भने ‘सबैतिर पहल गरे पनि काम कतै भएको छैन ।’
गत असारमा खानी विभाग टोली र चिनियाँ टोली दुवैले अवलोकन गरी बुँदागत रूपमा लेखेरै सडक विस्तारका लागि अनुरोध गरेको उनले जानकारी दिए ।
जग्गा अधिग्रहण गर्न बाँकी
नेपाल सरकारले चीनलाई पेट्रोलियम अन्वेषण गर्नका लागि जग्गा अधिग्रहण, सडक र सुरक्षा उपलब्ध गराउनुपर्ने छ । त्यस मध्ये अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन ।
दैलेखको भैरवी नगरपालिकाको वडा नम्बर १ मा ४५ रोपनी जग्गा अधिग्रहण गर्न अझै बाँकी रहेको छ । त्यसमा ४ वटा घरटहरा रहेका छन् । त्यसको लागि पहिचान गरी अधिग्रहणका लागि सीडीओे कार्यलयबाट काम अगाडि बढाइएको उनले बताए । यसमा जग्गा प्राप्ति ऐन २०३५ अनुसार काम हुने छ । समिति बनाएर मूल्यांकन गरेर सबै प्रकृया पुराएर मुआब्जा वितरण गर्ने छ ।
२०७७ चैत १९ मा चिनियाँ प्राविधिक तथा विज्ञ टोली आउने तय भएको थियो । तर, कोरोनाको महामारीको कारण चिनियाँ टोली नेपाल फर्किन सकेन । अब चिनियाँ टोली आएर गर्ने अन्तिम चरणको अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन सम्भावनाको टुंगो लाग्नु पर्ने हो ।
अन्तिम चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि व्याख्या गर्नेछ ।
पहिलो चरणमा साइस्मिक सर्वेक्षण अन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउनुपर्ने हो ।
अन्वेषणस्थलमा ड्रिलिङका लागि ३५ मिटरसम्म लामो फलामे पाइप (रेग) लैजानुपर्ने छ । तर, सडक साँघुरो र घुम्तीहरू सानो भएकाले अन्वेषणको काम आपूर्तिको काम चुनौतीपूर्ण छ ।यसअघि दैलेखको नाभिस्थान, श्रीस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानेर ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण गरिएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढाउने तय भएको थियो ।
जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्तिम चरणको सर्वेक्षणको काम गरिनेछ । दैलेखको भैरवी गाउँपालिका, दुल्लु नगरपालिकाका, डुङ्गेश्वर गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाको केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याइनेछ ।
०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।
उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।
यो समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त रूपमा कार्ययोजना बनाएका छन् । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो ।
योजनाअनुसार दोस्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेस्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने भनिएको थियो ।