चक्रपथ विस्तार पर धकेलिँदै, ‘साइट क्लियरेन्स’ नभई चिनियाँ टोली नआउने

"जग्गा प्राप्तिको समस्या यथावत"

काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्ड कलंकी–नारायणगोपाल चोकसम्म सडक विस्तार काम सुरू हुन अझै समय लाग्ने भएको छ । साइट क्लियरेन्स नभएसम्म चिनियाँ टोली नआउने भएसँगै सो सडक विस्तारमा ढिलाइ हुने भएको हो ।

सडक निर्माणका लागि किनारामा भएका मन्दिर र बिजुलीका पोल हटाउन नसक्दा चिनियाँ टोली अझै नेपाल नआउने संकेत दिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी भीमार्जुन अधिकारीले चिनियाँ टोलीले सबै साइट क्लियर नभएसम्म काम सुरू नगर्ने भनेकाले अझै समय लाग्ने बताए ।

‘चिनियाँ टोलीले साइट क्लियर गरेपछि मात्र आउँछु भनेका छन्, विगतमा उनीहरूले काम सुरू गरे पनि साइट क्लियर गर्न ढिला भएकाले काम समयमा सकिन नसकेको कारण आउन आनाकानी गरेका हुन्,’ अधिकारीले भने ।

उनका अनुसार सडकको दायाँबायाँ रहेका मन्दिरहरू हटाउन अझै बाँकी रहेको बताए । उनले २७ स्थानमा मन्दिर, पोल र बस स्टपहरू हटाउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार मन्दिर हटाउनका लागि स्थानीयले अन्यत्रै जग्गा माग गरेका छन् ।

उनले केही स्थानमा वडाले नै मन्दिर हटाए पनि केहीले आफ्नो बजेटमा राखेर हटाउनुपर्ने भएकाले थप समय कुर्न अनुरोध गरेको बताए ।

८.२ किलोमिटर उक्त सडक खण्डको विस्तार लामो समयदेखि अघि बढ्न सकेको थिएन । चक्रपथ सडक विस्तार योजनामा हाल सर्भिसलेनका लागि ट्रयाक खोल्ने काम भइरहेको छ । योजनाकी इन्जिनीयर सुमित्रा अधिकारीले साइटमा नेपालको तर्फबाट गर्ने काम भइरहेको बताएकी हुन् ।

‘नेपाल सरकारको तर्फबाट गर्नु पर्ने काम अहिले भइरहेको हो, हामीले सडकमा सर्भिसलेन ट्रयाक बनाउने काम गरिरहेका छौँ,’ अधिकारीले चाणक्य पोष्टसँग भनिन् ।

उनका अनुसार ट्रान्सफम सहित भएको ३ वटा पोललाई ग्रिन वेल्टमा पार्ने गरी डिजाइन गर्न सुझाइएको छ । चक्रपथ सडकको सीमा चौडा ६२ मिटर कायम गरिएको छ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसककेको छ । यसअघि कलंकीदेखि–धोबी खोलासम्मको ११.६ किलोमिटर विस्तार गर्ने योजना रहेको थियो । हाल नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने भएको हो ।

बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको आयोजना उपनिर्देशक सजना अधिकारीले जानकारी दिइन् । दोस्रो चरणमा विस्तारका लागि साइटका संरचना हटाउने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम भइरहेको छ ।

चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली मंसिर २०७८ मा साइट भिजिट गर्न नेपाल आएको थियो ।

यो सडक चीन सरकारको अनुदानमा बनिरहेको छ । यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी १०.३९ किमि) ८ लेनमा विस्तार भइसकेको छ  । पहिलो खण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।

सवारी चाप व्यवस्थापनका लागि चालू आवमा कलंकी–नारायणगोपाल चोक क्षेत्रमा ढल, सर्भिस रोडका लागि १ अर्ब बजेट विनियोजन गरेको छ ।चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो ।

चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरू गर्नेछ । निर्माण सुरू भएको ३ वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड– १९ को संक्रमणका कारण देखाउँदै ४ वर्ष पर धकेलिएको चक्रपथ सडक विस्तार चिनियाँ प्राविधिक आए पछि मात्र अध्ययनको काम सुरू हुने बताइएको छ ।

 

रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर निर्माण सुरू Read Previous

रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर निर्माण सुरू

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा एकैदिन ४ कम्पनीको बोनस सेयर सूचीकृत