काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत बुधबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज दोहोरो अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोेबार रकम ९ करोडले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
सोमबार सेयर बजार मापक सूचक नेप्से १७.७० अंकले बढेर १९०६ बिन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३५ प्रतिशतले बढेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, जीवन विकास लघुवित्त साढे ४ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सुपर माइ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शनका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।