काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको चुक्ता पूँजी कायम गर्न नसक्ने बीमा कम्पनीहरूलाई व्यवसायमा अंकुश लगाउने भएको छ । प्राधिकरणले पूँजीको आकार अनुुसारको व्यवसाय गर्न पाउने व्यवस्था गर्ने भएको हो ।
प्राधिकरणले यही चैत भित्रै जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ । सो अनुसार चुक्ता पूँजी कायम गर्न नसक्ने कम्पनीहरू समेत मर्जरमा जान आलटाल गरिरहेका छन् । कतिपय मर्जर तथा प्राप्तिमा गएका कम्पनीको पनि पूँजी पुग्ने देखिँदैन ।
कम्पनीको संख्या घटाएर वित्तीय अवस्था बलियो बनाउन लिइएको पूँजीवृद्धि नीतिले सानो पूँजीको आकार भएका कम्पनी समस्यामा परेका छन् । प्राधिकरणले मर्जर प्रक्रिया अपनाएका कम्पनीलाई छुट र सो प्रक्रियामै सामेल नहुनेलाई नीतिगत कडाइ गर्ने भएको छ ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पूँँजी पुर्याउन नसक्ने कम्पनीलाई जोखिममा आधारीत व्यवसाय गर्न दिने व्यवस्था गर्नुपर्ने बताउँछन् ।
‘तोकिएको पूँँजी कायम गर्न नसक्ने कम्पनीका लागि उसको पूँजी अुसारको व्यवसायिक सीमा छुट्याउनु पर्छ भन्ने हो,’ उनले भने, ‘जोखिममा आधारीत व्यवसाय गर्न दिँदा कम्पनीलाई पनि न्यायोचित नै हुन्छ भन्ने धारणा हो । तर यस विषयमा प्राधिकरणको बोर्डले केही निर्णय गरेको भने छैन ।’
चैत मसान्तसम्म यो विषयलाई प्राधिकरणको व्यवस्थापनमा लैजानुपर्ने उनले बताए । प्राधिकरणले कम्पनीको संख्या घटाउन पूँजी बढाउने निर्णय गरेपछि डेढ दर्जन कम्पनी मर्जर तथा प्राप्तिमा गएका छन् । प्राधिकरणले गत चैतमा जीवन र निर्जीवन बीमा कम्पनीलाई एक वर्ष भित्र साढे दुई गुणाले बढाएर चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो ।
अब कम्पनीलाई पूँजी बढाउन ताकेता गरेको समय केही दिन मात्र बाँकी छ । जसअनुसार चैत मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब पुर्याउनु पर्नेछ ।
मर्जरमा गएकालाई छुट
मर्जरमा गएका कम्पनीहरू मध्ये पनि धेरैले तोकिएको पूँजी कायम गर्न नसक्ने अवस्था छ । अर्थतन्त्रमा देखिएको संकटका कारण बीमा व्यवसाय पनि बढ्न सकेको छैन । जसको कारण कम्पनीलाई पूँजी वृद्धिको भारिले थिचेको छ । तर यो प्रक्रियामा सामेल भएर समेत पूँजी पुर्याउन नसक्ने कम्पनीले भने छुट पाउने छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक पौडेल भन्छन्, ‘मर्जरमा गएका कम्पनीहरूको पूँजी पुगेन भने पनि त्यसमा ठूलो समस्या रहन्न । २०÷२२ प्रतिशत कति हुन्छ, त्यो प्राधिकरणले छुट दिन्छ ।’
मर्जर तथा प्राप्तिको प्रक्रियापछि पनि पूँजी नपुगेका कम्पनीलाई व्यवसायिक अंकुश नलगाइने उनले बताए । ‘मर्जरमा गएपछि पूँजी कायम गर्न तिर गयो भन्ने हो,’ उनले भने । प्राधिकरणले बीमा कम्पनीलाई पूँजी वृद्धि गर्न दिएको एक वर्षमा डेढ दर्जन कम्पनी मर्जर तथा प्राप्तिमा सामेल भएका छन् ।
प्राधिकरणले कम्पनीलाई मर्जर तथा प्राप्ति र बोनस सेयर मार्फत पूँजी बढाउन दिए पनि हकप्रद जारी गर्न भने नदिने बताएको छ । यसैगरी, क्रस होल्डिङ भएका कम्पनीहरूले पनि मर्जरमा जानु पर्ने प्राधिकरणले मर्जरमा जान निर्देशन दिएको थियो ।
२१ कम्पनी मर्जरमा
प्राधिकरणले पूँजी वृद्धिको निर्णय गर्नुअघि नेपालमा १९ जीवन र २० निर्जीवन गरी ३९ वटा बीमा कम्पनी थिए । कम्पनीको संख्या घटाउन पूँजी बढाउने नीति लिएपछि उक्त संख्या घट्दै गएको छ ।
हाल मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीहरूको एकीकृत कारोबार सुरू गरेपछि कम्पनीको संख्या २८ वटामा झर्नेछ । यो संगै ११ वटा कम्पनीको अस्तित्व मेटिने भएको छ ।
एक वर्षको अवधिमा २१ वटा बीमा कम्पनी मर्जर प्रक्रियामा सहभागी भएका छन् । तीमध्ये जीवनतर्फ सूर्य र ज्योति मर्ज भई सूर्याज्योती लाइफ, रिलायन्स र सानिमा लाइफले एकीकृत कारोबार गरिसकेका छन् ।
हाल जीवन बीमातर्फ मर्जर प्रक्रियामा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ, प्राइम लाइफ, गुराँस र युनियन इन्स्योरेन्स मर्जर प्रक्यिामा रहेका छन् । यी कम्पनीहरूको मर्जर प्रक्रिया सम्पन्न भइसकेपछि जीवन बीमा कम्पनीको संख्या १९ बाट १४ वटामा झर्नेछ ।
त्यसैगरी, निर्जीवनतर्फ एभरेष्ट र हिमालयनबाट हिमालयन एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई सानिमा जीआइसी, सगरमाथा र लम्बिनी इनस्योरेन्सले सलिको नामबाट एकीकृत कारोबार गरेका छन् ।
त्यसैगरी, यस अवधिमा १२ वटा निर्जीवन बीमा कम्पनीहरू मर्जर प्रक्रियामा सहभागी भएका छन् । आइएमई जनरल र प्रुडेन्सियल, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ, अजोड र युनाइटेड इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । यी कम्पनीहरूको मर्जर प्रक्रिया सम्पन्न भइसकेपछि निजीवन बीमा कम्पनीको संख्या १४ वटामा झर्नेछ ।
कुन कम्पनीले कसरी पुुर्याउँदै छन पूँजी ?
मर्जर प्रक्रियामा सहभागि नभएका कम्पनी एशिएन लाइफले लाभांश वितरण गरेको छ । सोपछि यस कम्पनीको पूँजी ३ अर्ब १५ करोड रुपैयाँ पुग्ने देखिन्छ ।
सिटिजन्स लाइफ, आइएमई लाइफ आइपीओ निष्कासन गरेर पूँजी कायम गर्ने तयारीमा छ । सरकारी कम्पनी राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थानको पूँजी हालको भन्दा धेरै कम छ । सरकारी स्वामित्व र विदेशी कम्पनीहरूको हकमा पनि पूँजी वृद्धिको नीति लागू गरिने प्राधिकरणका अधिकारी बताउँछन् । तर सरकारी कम्पनीले नै कसरी कायम गर्छन भन्ने अष्पष्ट छ, न कुनै प्रक्रिया अघि ढाइएको छ ।
एलआइसी नेपाल, रिलायबल लाइफ र सन नेपाल लगायत कम्पनी मर्जर तथा प्राप्तिमा सहभागी छैनन् । निर्जीवन बीमा कम्पनी तर्फ नेशनल, एनएलजी, नेपाल इन्स्योरेन्स कर्पोरेसनलाई पूँजी कायम गर्न सकस छ ।