सबैभन्दा सस्तो बन्दै वाणिज्य बैंकको सेयर, २०० भन्दा कममै पाइन्छ यी बैंकको

काठमाडौं । वाणिज्य बैंकहरू सबैभन्दा सस्तो सेयर मूल्य हुने कम्पनी बनेका छन् । डेढ वर्ष यता सेयर बजारमा लगातार गिरावट आएसँगै वाणिज्य बैंकहरूको सेयर मूल्य सबैभन्दा सस्तो भएको हो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत १३ समूहमध्ये वाणिज्य बैंकहरूको सेयर मूल्य सबैभन्दा कम रहेको छ । नेप्सेमा सूचीकृत आधा दर्जन बढी बैंकको सेयर मूल्य २०० भन्दा पनि तल आएको छ । नेप्सेमा सूचीकृत अरु कुनै पनि क्षेत्रका कम्पनीहरूको सेयर मूल्य २०० रुपैयाँ भन्दा तल छैन ।

पछिल्लो डेढ वर्षमा नेप्से १३०० बढी अंकले घटेको छ भने वाणिज्य बैंकको सेयर मूल्य औसतमा ५० प्रतिशभन्दा धेरैले घटेको छ । वाणिज्य बैंकहरूले औसतमा १० प्रतिशतभन्दा धेरै लाभांश दिए पनि सेयर मूल्य भने सबैभन्दा कम भएको छ । वर्षौंदेखि सेयरधनीलाई प्रतिफल दिन नसक्ने हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य २५० रुपैयाँ माथि रहे पनि वाणिज्य बैंकहरूको भने निकै सस्ताे बनेको छ ।

अन्य क्षेत्रका कम्पनीहरूको तुलनामा वाणिज्य बैंकहरूको सेयर संख्या धेरै हुने भएकाले सेयर मूल्य पनि प्रभावित बनेको हो । कहिल्यै प्रतिफल नदिने कम्पनीहरूको सेयर संख्या थोरै हुँदा चलखेल गरेर मूल्य बढाउने गरेका छन् । तर, वाणिज्य बैंकहरूको सेयरमा चलखेल गर्न नसक्ने हुँदा मूल्य बढाउन सक्दैनन् ।

समग्र सेयर बजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याहरूले पनि बैंकको सेयर मूल्यलाई प्रभावित बनाएको देखिन्छ । तरलता अभाव, कर्जा लगानी गर्न नसक्नु, बढ्दो ब्याजदर, खस्कँदो वित्तीय अवस्था, बढ्दो खराब कर्जा लगायत कारणले पनि बैंकको सेयर मूल्य सस्तिँदै गएको हो ।

कर्जाको माग नहुँदा बैंकहरूले चालु आवको ८ महिनामा लक्ष्यको करिब २० प्रतिशत मात्र ऋण लगानी गरेका छन् । व्यवसाय विस्तार गर्न नसक्दा बैंकहरूको नाफामा संकुचन आएको छ ।

त्यस्तै, बढ्दो खराब कर्जाका कारण बैंकको नाफा प्रभावित हुँदै गएको छ भने आगामी दिनमा झन् बढ्ने प्रक्षेपण गरिएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणीले ऋण तिर्ने क्रम घट्दो छ । जसले बैंकहरूको खराब कर्जा बढाइरहेको छ । चालु आवको ६ महिनामै दोब्बरले खराब कर्जा दोब्बरले बढेको छ ।

खराब कर्जा बढेसँगै बैंकको नाफा घट्छ । खराब कर्जा बापतको रकम प्रोभिजन गर्नु पर्ने भएपछि बैंकहरूको लाभांश क्षमतामा पनि गिरावट आउँछ । चालु आवको अन्त्यसम्म बैंकहरूको खराब कर्जा ५ प्रतिशत हाराहारी पुग्ने राष्ट्र बैंकले चेतावनी दिएको छ । यसले बैंकहरूको नाफामा ठूलो गिरावट आउने र आगामी वर्ष बैंकहरूको लाभां क्षमता एकदमै कम हुने आकलन छ । जसले लगानीकर्ताको बैंकको सेयरप्रतिको आकर्षण घटाउँदै लगेको छ ।

यी हुन् २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका बैंक

नेप्सेमा सूचीकृत २१ वटा वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ भने औसत सेयर मूल्य २८६ रुपैयाँ रहेको छ ।

प्रभु, कुमारी, सिटिजन्स, लक्ष्मी, सनराइज, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । जसमा प्रभु बैंकको सबैभन्दा सस्तो प्रतिकित्ता १७६ रुपैयाँ रहेको छ ।

त्यसैगरी, कुमारी प्रतिकित्ता १७७ रुपैयाँ, सिटिजन्स १८०, लक्ष्मी र सनराइज १८१, ग्लोबल आइएमई १८६, इन्भेष्टमेन्ट मेगा १९२ र प्राइमको प्रतिकित्ता १९९ रुपैयाँ छ ।

त्यस्तै, १० वटा बैंकको सेयर मूल्य २०० देखि ३०० रुपैयाँ बीचमा रहेको छ भने जम्मा ३ बैंकको सेयर मूल्य मात्र ५०० रुपैयाँ माथि रहेको छ । जसमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको भाउ प्रतिकित्ता ६८६ रुपैयाँ रहेको छ ।

 

चालु वर्षमा १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, कसले कति ? Read Previous

चालु वर्षमा १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, कसले कति ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?