सरकारकाे आम्दानीमा धक्का, साढे ८ महिनामा एकतिहाइ पनि भएन विकास खर्च

काठमाडौं । सरकारकाे आम्दानी र खर्चमा गम्भीर समस्या देखिएकाे छ । अर्थतन्त्रमा देखिएकाे समस्या, राजनीतिक अस्थिरता लगायत कारणहरूले आम्दानीमा ऐतिहासिक गिरावट आउने संकेत देखिएकाे छ भने विकास खर्च बढ्न सकेकाे छैन ।

महालेखा नियन्त्रककाे तथ्यांक अनुसार चालू आर्थिक वर्षकाे ९ महिना( साउन- चैत) सम्म विकास खर्च एकतिहाइ पनि बढ्न नसकेकाे हाे ।

मयमै खर्च गर्न नसक्ने र आयाेजना अलपत्र पार्ने विगतकाे प्रवृत्तिले यस पटक पनि निरन्तरता पाएकाे छ । रूग्ण आयाेजनाहरूकाे निर्माणमा खर्च हुनुपर्ने रकम नहुँदा एकातिर पूर्वाधार निर्माणकाे लागत बढ्दै गएकाे छ भने अर्काेतिर समयमै सम्पन्न हुन सकेका छैनन् ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिसम्म सरकारले ८९ अर्ब ३६ कराेड रूपैयाँ खर्च गरेकाे छ । सरकारले यस वर्ष पूँजीगत खर्च ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरेकाे थियाे ।

चैत दाेस्राे सातासम्म कुल ४४.४८ प्रतिशत कुल बजेट खर्च भएकाे छ भने चालू खर्च ५२.४७ प्रतिशत भएकाे छ । पूँजीगत बजेट थोरै विनियोजन गरिने र सो रकम समेत खर्च गर्न नसक्ने सरकारी संयन्त्र र संरचना छन् ।

सरकारले गर्ने विकास खर्चले विकासका संरचना मात्र नभएर अर्थतन्त्रका अन्य क्षेत्रमा समेत असर गरेकाे देखिन्छ । बजेट खर्च नहुँदा वित्तीय प्रणालीमा तरलता अभाव, आर्थिक वृद्धिमा संकुचन जस्ता समस्याहरू देखापर्ने गरेका छन् ।

आम्दानी र खर्चकाे खाडल

सरकारकाे आम्दानी र खर्चबीचकाे असन्तुलन बढ्दै गएकाे छ । राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था आउँदा सार्वजनिक वित्त व्यवस्थापन घाटामा गएकाे छ ।

चैत दाेस्राे सातासम्म ५ खर्ब ९६ अर्ब रूपैयाँ कुल राजस्व संकलन भएकाेमा चालू खर्च मात्र ७ खर्ब ९७ अर्ब रूपैयाँ पुगेकाे छ । राजस्व संकलन लक्ष्यभन्दा ४० प्रतिशत कम छ । याे वर्ष राजस्व संकलनमा ऐतिहासिक गिरावट आउने प्रक्षेपण गरिएको छ ।

अघिल्लो वर्षकाे भन्दा कम राजस्व संकलन हुने याे पछिल्लो पाँच दशक यताकै पहिलाे आव हुने अर्थतन्त्रका जानकारहरू बताउँछन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएकाे दबाब कम गर्न सरकारले एक वर्षसम्म लगाएकाे आयात प्रतिबन्धका कारण राजस्वमा ठूलाे गिरावट आएकाे छ ।

लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिने भएपछि सरकारले राजस्व संकलन र खर्चकाे आकारमा व्यापक कटाैती गरेकाे थियाे । तर त्यसबा वाबजुत अर्थतन्त्रकाे सार्वजनिक वित्त व्यवस्थापनमा देखिएकाे समस्या भने कायमै छ ।

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक Read Previous

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन