काठमाडौं । सिद्धार्थ बैंक मर्जरमा जान लागेको हल्ला चलेपछि बिहीबार एकाएक बैंकको सेयर मूल्यमा उछाल आयाे ।
हिजो एकैदिन बैंकको सेयर मूल्य ८.३४ प्रतिशत अर्थात् प्रतिकित्ता २१.७० रुपैयाँले बढेर २८१.९० रुपैयाँ पुगेको छ । बैंकको सेयर खरिदका लागि उच्च माग रहेको थियो भने विक्रीकर्ता न्यून थिए ।
बिहीबार दिनभर सेयर बजारमा एनआइसी एशिया र सिद्धार्थ बैंक बीच मर्जर हुने हल्ला चलेको थियो । तर, बजारमा निराधार हल्ला चलेको बैंकले जनाएको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान लागेको भनि फैलाइएको हल्लामा कुनै आधिकारिकता नरहेको जनाएको छ ।
‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था बीचमा मर्जर एक्वीजिशन सम्बन्धी फैलाइएको समाचारतर्फ यस बैंकको ध्यानाकर्षण भएको छ,’ बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समाचाहरूमा कुनै आधिकारिकता नरहेको व्यहोरा जानकारी गराउँदछौं ।’
