नागढुंगा-नौबिसे सुरुङमार्ग : अझै आधा काम बाँकी, १ वर्ष म्याद थप्न प्रस्ताव

काठमाडौं । कोभिडकालमा समेत निरन्तर काम भए पनि राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको म्याद अब ३ महिना मात्र बाँकी रहे पनि अझै झन्डै आधा काम बाँकी छ ।

ठेक्का सम्झौता अनुसार यही वैशाखसम्म सकिनुपर्थ्यो । कोरोनाका कारण ढिलाइ भएको भन्दै ३ महिना म्याद थपिएको थियो । सो अवधि असारमा सकिने भए पनि सो बेलासम्म सुरुङमार्ग निर्माण पूरा नभएपछि फेरि म्याद थप्नुपर्ने भएको हो ।

तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएपछि आयोजनाले म्याद थप प्रक्रिया अघि बढाएको हो । सुरुङ निर्माणको काम गरिरहेको निर्माण कम्पनीले समयमा काम नसकिने भन्दै म्याद थपको माग गरेको हो ।

म्याद थपका लागि सडक विभागमा पत्र पठाइएको आयोजनाले जनाएको छ । नागढुंगा– नौबिसे सुरुङमार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले १ वर्ष म्याद थपका लागि पत्र पठाइएको बताए ।

उनका अनुसार विगतमा थप गरिएको समय अवधिमा निर्माण नसकिने भएका कारण थप १ वर्षका लागि म्याद थप गर्न माग गरिएको हो । ‘आयोजनको नियमित काम भइरहे पनि तोकिएकै अवधिमा पूरा नहुने भयो, अब म्याद थप्नुको विकल्प छैन,’ उनले चाणक्य पोष्टसँग भने, ‘१ वर्षका लागि म्याद थप गर्न पत्र पठाएका छौँ ।’

कोइरालाले आयोजनाको सम्झौता अनुसार निर्माण अवधि सकिन २ महिना बाँकी रहेको छ । नागढुंगा सुरुङमार्ग ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७६ कात्तिकबाट निर्माण सुरू भएको थियो । कोरोनाबाट प्रभावित भएपछि सरकारले यस आयोजनाको निर्माण अवधि ३ महिना थपेको थियो ।

अझै ५० प्रतिशत काम बाँकी

निर्माण अवधि सकिन लागे पनि सुरुङमार्ग निर्माणको अझै आधा काम बाँकी रहेको छ । प्रवक्ता कोइरालाका अनुसार फागुन अन्तिमसम्म आयोजनाको भौतिक प्रगति ५०.१५ प्रतिशत रहेकोे छ । अझै ४९.८५ प्रतिशत काम बाँकी छ । त्यस्तै, वित्तीयतर्फ ५४.३९ प्रतिशत प्रगति भएको छ । बाँकी काम सक्न अब कम्तीमा पनि १ वर्ष लाग्ने कोइरालाले बताए ।

हालसम्म मुख्य सुरुङ खन्ने काम ७६.३० प्रतिशत पूरा भएको छ भने फिनसिङ, फ्लाइओभर निर्माण लगायत काम बाँकी छ । हालसम्म कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) रहेकोमा हालसम्म ४ हजार १९७.४० मिटर निर्माण सम्पन्न भएको हो ।

मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ८६९.८० मिटर खनिसकिएको उनले बताए । आयोजनाको काठमाडौंतर्फ ८९३.८० मिटर र धादिङतर्फ ९९७६ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेमा हालसम्म २ हजार १२७।८० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार १४७.२० मिटर र धादिङतर्फ ९८०.६० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म कुल ३ हजार ९९७.६ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ४ हजार १९७.८० मिटरको काम सम्पन्न भएको छ । त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा अझै १ हजार ३०१।२ मिटर निर्माण गर्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

रोकिएन सेयर बजारको ओरालो यात्रा, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

रोकिएन सेयर बजारको ओरालो यात्रा, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

ऋण तिर्न नसकेर २ वर्षदेखि अलपत्र गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै Read Next

ऋण तिर्न नसकेर २ वर्षदेखि अलपत्र गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै