अर्थतन्त्र संकटको असर होटल व्यवसायमा, २० प्रतिशतसम्म घट्यो अकूपेन्सी

काठमाडौं । कोभिडपछि तंग्रिन लागेको होटल तथा पर्यटन व्यवसायमा पनि आर्थिक सुस्तताको असर देखिएको छ । आन्तरिक पर्यटकहरुको चहलपहलले गत कात्तिकसम्म भरिभराउ होटलको अकूपेन्सी त्यसयता घटेको हो ।

महंगी र ब्याजदर वृद्धिले माग संकुचन हुँदा व्यापार व्यवसाय बढ्न सकेको छैन । जसको प्रभाव होटल तथा पर्यटन क्षेत्रमा पनि देखिएको छ । मानिसको क्रयशक्ति कमजोर र आर्थिक मन्दीको हल्लाले आन्तरिक पर्यटकको चहलपहल सुस्त हुँदा होटलको अकूपेन्सी घटेको व्यवसायीहरु बताउँछन् ।

होटल व्यवसायी महासंघका उपाध्यक्ष दिनेशकुमार चुलेले दसैंसम्म पिकअप अवस्थामा रहेको होटलको अकूपेन्सी अहिले २० प्रतिशतसम्म घटेको बताए ।

‘अहिले आर्थिक मन्दीको हल्लाले गर्दा पनि मानिसको जुन मुभमेन्ट थियो त्यो घटेको छ,’ उनले भने, ‘दसैं अघिसम्म आन्तरिक पर्यटकको चहलपहलले सामान्य अवस्थामा फर्किन लागेको होटल व्यवसाय फेरि ओरालो लागेको देखियो ।’

विदेशी पर्यटकहरुको आवागमन बढेको देखिए पनि मुख्य क्षेत्रमा मात्र सिमित हुँदा त्यसले अन्य क्षेत्रमा केही प्रभाव नपारेको उनले बताए ।

‘सौराहा, पोखरा लगायतका स्थानहरुमा गत वर्षको तुलनामा २० प्रतिशतसम्म होटलको अकूपेन्सी घटेको छ,’ उनी भन्छन्, ‘यसको मुख्य कारण भनेको आर्थिक मन्दी नै हो भन्ने व्यवसायी साथिहरुको निष्कर्ष छ ।’

व्यवासाय राम्रोसँग नचल्दा बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्न समेत सकस भएको व्यवसायीहरुको भनाइ छ । ‘व्यवसायीहरुले बैंकको किस्ता तिर्न सक्ने अवस्था छैन । किस्ता खप्पीपएको अवस्थामा ब्याज मात्र तिरिरहेका छन्,’ एक होटल व्यवसायीले भने, ‘बैंक तथा वित्तीय संस्था विरुद्ध व्यवसायीको आन्दोलनले राष्ट्र बैंकदेखि बैंक तथा वित्तीय संस्था झस्कीएका छन् । यस्तो अवस्थामा कर्जा लिएको ठाउँबाट प्रतिबद्धता पत्र जाहेर गरिरहेका छौं ।’

बाह्य पर्यटकको संख्या बढे पनि आन्तरिक गतिविधि र अर्थतन्त्रमा आएको संकुचनले होटल व्यवसाय पनि फस्टाउन नसकेको उनले बताए । कोभिड पछि गत वर्षदेखि चलायमान भएको अर्थतन्त्र चालु वर्षमा सिथिल भएको छ ।

बाह्य दबाव र महंगी नियन्त्रण गर्न सरकार र नेपाल राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिबन्धात्मक व्यवस्थाले माग बढ्न सकेको छैन । अर्कोतर्फ उत्पादनका क्षेत्रमा लगानी नबढ्दा रोजगारी बढेको छैन भने मानिसको आम्दानीमा गिरावट आएको छ । जसको असर पर्यटन, होटल व्यवसायमा समेत देखिएको छ ।

विदेशी पर्यटन आवागमनमा सुधार हुँदै

कोभिडपछि ठप्प प्राय भएको विदेशी पर्यटन आवागमन पुरानै अवस्थामा फर्किएको देखिन्छ । अध्यागमन विभागका अनुसार २०२३ को पहिलो दुई महिनामा नेपाल भित्रिने विदेशी पर्यटकहरुको संख्या जनवरीमा ५५ हजार र फेब्रुअरीमा ७३ हजार पुगेको छ ।

अघिल्लो वर्षकोे जनवरीमा १६ र फेब्रुअरीमा १९ हजार पर्यटन नेपाल भित्रिएका थिए । २०२१ को ८ हजार पहिलो र ९ हजार दोस्रो महिनामा विदेशी पर्यटक आएका थिए ।

सन् २०१९ को अन्तिमतिर फैलिएको महामारीले तीन वर्ष विदेशी पर्यटन आवागमन र पर्यटन व्यवसायमा ठूलो धक्का लागेको थियो । सरकारले लकडाउन र कोभिड संक्रमणका कारण आवातजावतमा लगाएको प्रतिबन्धले पर्यटन तथा अर्थतन्त्रका अन्य क्षेत्रमा असर पारेको थियो ।

६ वर्षदेखि सडक निर्माण अलपत्र, व्यवसाय चाैपट भएर व्यवसायी विस्थापित Read Previous

६ वर्षदेखि सडक निर्माण अलपत्र, व्यवसाय चाैपट भएर व्यवसायी विस्थापित

इङवा हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप Read Next

इङवा हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप