काठमाडौं । भ्रष्टाचारको मुद्दामा ९ सिमेन्ट उद्योगीसहित १८ जनाले पाए सफाइ पाएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध १ अर्ब २६ करोड १९ लाख ४८ बिगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
सो मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । शुक्रबार विशेष अदालतका न्यायाधीश रमेश पोखरेल, खुसीप्रसाद थारु र बलभद्र सापकोटाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा आरोप पुष्टि हुन नसकेको भन्दै १८ जनालाईनै सफाइ दिएको हो ।
अख्तियारले विभागका महानिर्देशक घिमिरेले आफ्नै नेतृत्वमा गठित समिति (पहिलो) ले दिएको प्रतिवेदन अनुसार लिनुपर्ने क्षतिपूर्ति (राजस्व) नभराई जयराज घिमिरेको नेतृत्वमा बदनियतपूर्वक दोस्रो समिति गठन गरी नेपाल सरकारलाई राजस्व हानि नोक्सानी हुने र निजी उद्योगरकम्पनीहरुलाई फाइदा पुग्ने गरी दोस्रो समितिले गलत प्रतिवेदन आधारमा छुट दिइ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
अख्तियारले भू–गर्भ विभागका सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा। सौनक भण्डारीविरुद्ध मुद्धा दायर गरेको थियो।
त्यसैगरी, सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगढ, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।