काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा ठूलो सफलता हात पारेको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले विद्युत् चुहावट समग्रमा ५.९३ प्रतिशत विन्दुले घटाउन सफल भएको हो ।
प्राधिकरणका अनुसार चालु आवको माघसम्म चालु आर्थिक वर्षको माघसम्म समग्रमा विद्युत् चुहावट १२.५९ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा समग्र विद्युत् चुहावट १८.५२ प्रतिशत थियो ।
वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएकाे छ । जबकि गत वर्षको सोही अवधिमा यस्तो चुहावट ९.६५ प्रतिशत थियो ।
नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियान प्रभावकारी बनेसँगै प्राधिकरणले उल्लेख्य रुपमा चुहावट घटाएको हो ।
गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो । यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो ।
प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो ।
चालु आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएकोमा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत बिक्री भएको छ । चार करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ ।
प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।